बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापी शुरु

प्रकाशित मिति:

८ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित विरामीको उपचार शुरु भएको छ । अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेकी ७० वर्षकी महिलाको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो । ती महिलाका लागि केही दिनअघि कोरोना संक्रमणबाट मुक्त भएका लुम्बिनी प्रादेशिक अस्पताल चिकित्सक डा। साजन श्रेष्ठले सोमबार रगत दिएका छन् । ‘अस्पतालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार शुरु गरेका हौं’–अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले भने, ‘यो विधिबाट संक्रमित निको भए अरु विरामीहरुमा पनि गर्छौं ।’

प्रदेश ५ मा पहिलोपटक शुरु गरिएको प्लाज्मा थेरापीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनाल, कोरोना फोकल पर्सन थापा, नेपाल चिकित्सक संघ लुम्बिनि प्रादेशिक अस्पताल, पारामेडिक्स र रक्तसचार केन्द्र बुटवलको समेत संयुक्त प्रयास रहेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउंछन् । यो उपचार विधि सफल हुने नहुने अझै निश्चित भने छैन ।@onlinekhabar