प्रकाश न्यौपाने
नवलपरासी, भदौ ९ । पश्चिम नवलपरासीमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यलयले ८ गते सोमबार देखी जिल्लामा हरियो वा सेतो मटर (केराउ), छोहडा र मरिच ओसार पसार र ढुवानीमा प्रतिबन्ध गरिएको छ । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको अवैध ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञाका समयमा पनि जिल्लामा वैधअवैध रुपमा हरियो÷सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकताभन्दा बढी भण्डार र अवैध रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले आजदेखि उक्त वस्तुको ओसारपसार तथा ढुवानीमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।
पछिल्लो समय पश्चिम नवलपरासीका सिमावर्ती क्षेत्रमा रहेका घरहरुमा भारत तर्फ तस्करीका लागि मटर, छोहडा र मरिचको भण्डारण गर्ने गरिएको छ । प्रहरीले पछिल्लो पटक तस्कर माथी कडा निगरानी गरिरहेको र तस्करी नियन्त्रणमा ल्याउने दाबी पनि गरेको छ । निषेधाज्ञा तथा सीमा पूर्णरुपमा बन्द हुँदा पनि नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरी तस्करीमा कमी आउन सकेको छैन ।
देशका विभिन्न नाकाबाट भन्सार गराएर यस्ता वस्तु जिल्लाका विभिन्न स्थानमा रहेका गोदामघरमा आवश्यकताभन्दा अधिक मात्रामा भण्डारण गरी राख्ने तथा रातका समयमा लुकिछिपी भारततर्फ निकासी गराउने कार्य गर्दा शान्तिसुरक्षामा खलल पुग्नुका साथै कारोना भाइरस समुदायस्तरमा फैलिन गई मानव स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने तर्फ सबैले ध्यान दिनु पर्ने प्रअिज पाठकले बताउनुभयो ।
जिल्लामा प्रशासनले लगाएको निषेधाज्ञा जारी रहेको हुँदा राती ९ बजे पछि घर बाहिर ननिस्कन आग्रह गरिएको छ निस्कनै परे प्रहरीको कन्ट्रोल रुमको नम्बर १०० मा जानकारी गराएर मात्र निस्किन पनि आग्रह गरिएको छ । जिल्ला प्रशाशन बाट जारी गरीएका सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन, २०२० को दफा ३ तथा प्रचलित कानून बमोजिम कारवही हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जारी गरेको सुचनामा भनिएको छ ।