मन्त्रीले हेलिकोप्टरमा गुल्मी ल्याएको पिसिआर मेसिन नक्कली, एक महिना राखेर काठमाडौ फिर्ता

प्रकाशित मिति:

गुल्मी, १२ भदौ । गुल्मीका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृह जिल्लामा हस्तान्तरण गरेको पिसिआर मेसिन बेकामे भएर काठमाडौ फिर्ता गरिएको छ । मन्त्री ज्ञवालीले कामै नलाग्ने मेसिन ल्याएको र मर्मत गर्ने अनेक प्रयास गर्दा पनि नभएपछि मेसिन नै काठमाडौ फिर्ता गरिएको हो । झण्डै एक महिना लगाएर पनि बनाउन नसकिने अवस्थाको मेसिन गत साउन ३ गते भव्य कार्यक्रम गरेर जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि प्रयोगमा आउला भनेर प्रतिक्षा गर्दा गर्दै आम नागरिक निराश भएपछि सोधिखोजी गर्दा विग्रिएको, पाटपुर्जा नै नभएको र काम नलाग्ने मेसिन ल्याएर दिएको पुष्टि भएको हो ।
मन्त्रीले दिएको मेसिन प्रयोगमा नल्याएको भन्दै जनताले शुरुमा नगरपालिकाका मेयर डिल्लीराज भुसालप्रति आक्रोश व्यक्त गरेका थिए । तर मन्त्रीले काम नलाग्ने मेसिन दिएकाले आफुले प्रयोगमा ल्याउन नसकेको जवाफ उनले दिने गरेका थिए ।

उनले पाटपुर्जा पुरा नै नभएको मेसिन ल्याइदिएकाले आफुले गाली खानु परेको भन्दै मन्त्री ज्ञवालीसँग पनि आक्रोश पोखेका थिए ।
मन्त्री ज्ञवालीले दिएको भनिएको सो पिसिआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रकम संकलन गरिएको थियो । जनतालाई काम देखाउन र कामको श्रेय लिन मन्त्री ज्ञवालीस्वयम उक्त पिसिआर मेसिन काठमान्डौदेखि हेलिकेप्टर मार्फत् सदरमुकाम तम्घासल्याएका थिए । मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको बताएको थियो ।
पुरा पाटपुर्जा नै नभएको मेसिन बनाउनका लागि नगरपालिकाले शुरुमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र त्यसपछि काठमाडौबाट स्वास्थ्य प्राविधिकहरुको टोली ल्याएको थियो । ती सवै प्राविधिकहरुले पिसिआर मेसिनमा अत्यावश्यक पाटपुर्जाहरु नै नभएकाले यो मेसिन काम नलाग्ने र यहाँ बनाउन पनि नसकिने भएकाले काठमाडौ फिर्ता गर्नुभनेर सुझाव दिएका थिए । अपुरो मेसिनलाई गुल्मीमै मर्मत गर्ने प्रयास एक महिनासम्म पनि सफल नभएपछि केही दिन अगाडि मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले सो मेसिन काठमाण्डौ लगेका छन् ।
रेसुङ्गा नगरपालिका मेयर भुसालले गुल्मीमै मर्मत गर्न नसकिएकाले मेसिन काठमाडौ फिर्ता गर्नुपरेको बताए । उनले प्राविधिक र उपकरणहरु उपलब्ध भएमा पिसिआर मेसिन फेरी गुल्मी ल्याएर संचालन गर्न अझै १५ दिन लाग्न सक्ने जानकारी दिए ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पच्याले पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमान्डौबाट आएको स्वास्थ्य प्राविधिकहरुको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेकाले त्यो मेसिन काठमान्डौ पठाईएको बताए । उनले अब त्यही मेसिन आउँछ की अर्कोमेसिन आउँछ भन्ने बारेमा आफुलाई जानकारी नरहेको जवाफ दिएका छन् । त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले पनि मेसिनमा विभिन्न पाटपुर्जा जडान गर्न काठमाण्डौ पठाईएको पुष्टि गरेका छन् ।

मन्त्री ज्ञवालीले काम नलाग्ने मेसिन तामझामका साथ दिएको देखाएर जनताको भावना र विश्वास माथी खेलवाड गरेको काँग्रेसको टिप्पणी छ ।
काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जनताको रकमबाट मन्त्री ज्ञवालीले नक्कली पिसिआर मेसिन किनेर जनता ठग्न खोजेको टिप्पणी गर्नुभयो ।उहाँले कम्युनिष्टहरु कामभन्दा प्रचार बढी गर्छन र सेवाभन्दा स्वार्थ हेर्छन भन्ने पुष्टि भएको दावी गर्नुभयो । मन्त्रीले नै हेलिकोप्टरमा ल्याएर अत्यधिक प्रचारप्रसारका साथ हस्तान्तरण गरिएको मेसिन काम नलाग्ने रहेको थाहा पाएपछि जिल्लावासी अहिले निराश भएका छन् भने देशैभरी चर्चाको विषय बनेको छ ।