गल्याङ नगरपालिका ९ का ६० परिवारलाई राहत वितरण

प्रकाशित मिति:

गल्याङ । स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ९ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।  वडा नम्बर नौ साङ्लीयाका ६० विपन्न घर परिवारलाई नगरपालिकाबाट राहत स्वरुप चामल वितरण गरिएको हो ।  राहत वितरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरवासीको आधारभूत आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्व भएको बताउनुभयो । उहाँले कोरोना भाइरस कोभिड १९ का कारण स्थानीयको जीवनयापन र समग्र विकास प्रक्रियामा असर परेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘नगरपालिकाका विभिन्न योजना अगाडि सार्दै गर्दा कोरोनाले हामीलाई असहज बनाइरहेको छ, तर पनि हामीले अधिकतम प्रयत्न गरिरहेका छौं ।’गल्याङ नगरपालिका ९ मा विपन्न परिवारको संख्या अत्यधिक रहेको भन्दै नगरप्रमुख अधिकारीले स्वरोजगार र रोजगार बनाउनका लागि आफुले विशेष योजना ल्याएको बताउनुभयो । उहाँले नगरपालिकाले विपन्न तथा गरिबीको चपेटामा परेकाहरुका लागि खाद्य सहयोग देखि घर निर्माणसम्म गरिने बताउनुभयो । नगरप्रमुख अधिकारीले विपन्नहरुको वर्गिकरण गरी नगरपालिकाले सहयोग गर्ने योजना ल्याएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो –‘धनी र गरिबको खाडल अन्त्य गर्न हामी प्रतिबद्व छौं, यसका लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले स्थानीय जनताको आवश्यकता अनुसारका काम गर्न नगरपालिका सधैं प्रतिबद्व रहेको बताउनुभयो ।

उहाँले कुनै पनि समस्या परेमा जनप्रतिनिधिहरुलाई खबर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सभापति रहनुभएका वडा नम्बर ९ का अध्यक्ष हरिलाल खनालले जनताको सेवामा नगरपालिकाको सिङ्गो टिम सक्रीय भएर लागिरहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानीय नेता दिपेन्द्र रानाले स्थानीयको समस्यामा नगरपालिकाले साथ दिइरहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । स्थानीय अमर विकले विपन्न परिवारका लागि आफुले नगरपालिकामा खाद्यान्न सहयोगको पहल गरेको बताउनुभयो । कार्यक्रममा नेकपाका स्थानीय नेता परशुराम अर्यालले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
उक्त गाउँका सबै जसो दलित समुदायहरुलाई लक्षित गरी प्रति परिवार २५ किलोका दरले चामल वितरण गरिएको थियो ।सो क्रममा नगरप्रमुख सहितको टोलीले वर्षात्को समयमा घर पहिरो गएर निधन भएका यामबहादुर विकका परिवारको अवस्था तथा घर निर्माणबारे चासो व्यक्त गर्दै घर निर्माणमा सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको थियो ।