झाओ लिजियानले भने अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनमा एप्पलका उत्पादन ‘बहिष्कार’ गरीन्छ

प्रकाशित मिति:

काठमाडौँ — अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी कम्पनी एप्पलका उत्पादन बहिष्कार गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । ट्रम्पले यी चिनियाँ एपका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका थिए ।

त्यसैले ट्रम्पले अमेरिकी कम्पनीलाई स्वामित्व नबेचे यी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । पछिल्लो समय यसै विषयलाई लिएर पनि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले शुक्रबार ट्वीटमा भनेका छन्, ‘यदि विच्याटमाथि प्रतिबन्ध लगाउने हो भने चिनियाँ नागरिकले आइफोन र एप्पलका उत्पादन बोकिरहनुपर्छ भन्ने कुनै कारण देखिँदैन ।’ यसअघि बिहीबार नै प्रवक्ता झाओले भनेका थिए, अधिकांश चिनियाँ नागरिकले विच्याटमाथि प्रतिबन्ध लगाए आइफोन प्रयोग नगर्ने भनिसकेका छन् । अमेरिकाले योजनाबद्ध रुपमै गैरअमेरिकी कम्पनीहरुमाथि आक्रमण गरिरहेको छ ।

झाओको टिप्पणीपछि चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । चीनमा ट्विटर प्रतिबन्ध भए पनि भर्चुअल प्राइभेट नेटवर्क९भीपीएन० को सहयोगमा चलाउने गरेको पाइन्छ । ‘म एप्पल प्रयोग गर्छु, तर म मेरो देशलाई पनि उत्तिकै माया गर्छु । यो द्वन्द्व होइन,’ट्विटर जस्तै चिनियाँ प्लेटफर्म वेइपोका एक प्रयोगकर्ताले भन्छन् । ‘एप्पल जतिसुकै राम्रो भए पनि यो एउटा फोन त हो । यसको साटो अर्को प्रयोग गर्न पनि सकिन्छ तर विच्याट फरक कुरा हो,’ अर्का प्रयोगकर्ता भन्छन्, ‘आधुनिक चिनियाँ नागरिक विशेषगरी व्यावसायिक मान्छेले विच्याटबिना बस्न सक्दैनन् ।’ चिनियाँ स्मार्टफोन बजारमा एप्पलले करिब ८ प्रतिशत हिस्सा ओगटेको बताइन्छ । चीनमा ‘वेक्जिन’ का नामले परिचित ‘विच्याट’ का प्रयोगकर्ता करिब एक अर्ब २० करोड रहेका छन् । अमेरिकामा मात्रै विच्याटका प्रयोगकर्ता करिब एक करोड ९० लाख भएको बताइन्छ । एजेन्सी