गाडीका नम्बरमा नेपाली हटाएर अंग्रेजी अक्षर लेख्ने निर्णय प्रति साहित्यकारहरुको असहमति

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी, १४ भदौ ः सवारी साधनका नम्बर प्लेटमा रहेका नेपाली नम्बरलाई हटाएर अंग्रेजी अक्षर अनिवार्य गर्न लागिएको भन्दै नवलपरासीका साहित्यकारहरुले असहमति जनाएका छन् । नेपाली भाषाको मर्म र पहिचानलाई मेटाउने गरी लागू गर्न भनिएको निर्णय सच्चाउन समेत उनीहरुले माग गरेका छन् ।
नेपाली भाषा साहित्य संघ नवलपरासी पश्चिमका अध्यक्ष नेत्रलाल न्यौपाने र सचिव टीकादेवी पोखरेलद्धारा आइतबार प्रकाशित प्रेस विज्ञप्तीमा सरकारले नेपाली अक्षरलाई हटाएर अंग्रेजी भाषाका ‘ इम्बोस्ड’ नम्बर राख्नु पर्ने निर्णय प्रति असहमति जनाएका हुन् । सरकारको उक्त निर्णयविरुद्ध मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जालले दबाब दिएपछि तत्कालीन प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीको इजलाशले २०७४ फागुन ६ गते सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । तर २०७६ मंसिर २७ गतेको सर्वोच्चको आदेशले उक्त रिटलाई खारेज गरेपछि यातायात व्यवस्था विभागले यही साउन १ देखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर राख्नु पर्ने भन्दै पत्रचार गरेको छ । नेपाली भाषामा वर्ण लेखनमा जटिलता, विदेशीका लागि सजिलो, पारवहान सुविधा हुने तर्क राखेर फैसला गर्नुले नेपाली भाषाको गरिमा र अस्तित्वलाई गंभिर चोट पु¥याएको ठहर गर्दै नेपाली नम्बर प्लेट हटाउने निर्णयलाई सच्चाउदै तत्काल कार्यान्वयन नगर्न समेत विज्ञप्तीमा मार्फत आग्रह गरिएको छ ।