स्वास्थ्यकर्मीलाई सलाम !

१७ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


दिनेश खड्का, बुटवल  – जब म सानो थिएँ, दशैंमा टीका लगाउँदा मेरा मान्यवरले दिने आशीर्वाद एउटै हुन्थ्यो—धेरै पढेर डाक्टर हुनूु । म ठूलो हुँदासम्म र मैले डाक्टर होइन अरु कुनै पेसा अँगालिसक्दा पनि हजुरबुबाले अझैत्यही नै आशीर्वाद दिनुहुन्थ्यो¬—नाति, ठूलो भएर डाक्टर हुनू । उहाँहरुको आशीर्वादमा खाँेट अवश्यथिएन । म कारणवश डाक्टर हुन सकिनँ तर आज आएर मैले बुझेको तथ्य के हो भने उहाँहरुले डाक्टर हुनको लागि दिएको आशीर्वादको सङ्केत भनेको यो पेसाप्रतिको सम्मान हो । त्यही भएरमलाईउहाँहरुले डाक्टर बन्न उत्प्रेरित गर्नुभएको थियो,जुन कुरा आज आएर बल्ल मैले बुझेँ ।

डाक्टर तथा नर्सका रुपमा होस् अथवा ल्याव एवं फार्मेसीमा काम गर्ने व्यक्तिका रुपमा । यसका अलावा व्यवस्थापनमा खटिने अन्य व्यक्तिहरु नै किन नहोस्, जो स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्छ सबैप्रति मेरो उच्च सम्मान छ तर जति पनि स्वास्थ्यकर्मी साथीहरु हुनुहुन्छ तपाईँहरुलाई आज समाजले यति अछुतो व्यवहार प्रदर्शन गरिरहेको छ कि मानौं तपाईँहरु अपराधी हो । तपाईँहरुले गरेका योगदानका उज्याला पाटाहरुलाई निमिट्यान्न पार्दै कोरोनाको सङ्क्रमण तपाईँहरुले नै फैलाइरहनुभएको छ जस्तो गरी समाजले चित्रित गर्दै छ भनेर यहाँहरुको पनि बुझाइ छ होला । तर साथीहरु वास्तविकता त्यस्तोे पनि नहुन सक्छ । एकाध व्यक्तिहरुको मिथ्या आरोप तपाईँहरुलाई भारी अवश्यमेव भएको छ होला । मैले बुझेको तथ्य केहो भने समाजमा नब्बे प्रतिशत मानिसहरु असल र दश प्रतिशत मानिसहरु मात्रखराब हुन्छन् त्यो पनि कारणवश । त्यसैले केही नगन्य व्यक्तिले लगाएको आरोप, गरेको दुव्र्यवहार वा आक्रमण नै किन नहोस् त्यसले सिङ्गो समाजको प्रतिनिधित्व गर्छ भन्न मिल्दैन र त्यसलाई त्यसरी बुझियो भने सिङ्गो स्वास्थ्य क्षेत्र नै धराशयी बन्न पुग्छ ।

आज तपाईँहरुप्रतिको आस्था, विश्वास र सम्मान अझ ज्यादा बढेको छ भन्ने मलाई लाग्छ । मानिसको असली पहिचान त्यही बेलामा हुन्छ जतिबेला परिस्थिति कठिन र जटिल हुन्छ । अहिले परिस्थिति तपाईँहरुको हातमा पनि छैन । मानव अस्तित्वमाथि नै धावा बोलिरहेको कोरोनाको जटिल अवस्था तपाईँहरुले नियन्त्रण गर्ने भन्दा पनि एउटा साधारण मानिसको अन्तिम आशा तपाईँहरुसामू ठोक्किन जान्छ जुन अस्वभाविक होइन । त्यसैले तपाईँहरुको भूमिका समाजले ज्यादा खोजेको मात्र हो अथवा समाजलाई सुरक्षित बनाउन तपाईँहरुले नै पहरेदारी गर्नुपर्छ भन्नुभन्दा दोस्रो विकल्पमा चर्चा हुनै सक्दैन । हिजो के भयो भनेर सम्झिने हो भने केही त्यस्ता बदमासीहरु एकाध स्वास्थ्यकर्मीबाट नभएका होइनन्, जो सजायको भागीदार छन् र कतिपयले सजाय भोगेका पनि छन् । यसको मूल्याङ्कन समाजले गरिरहेको छ र भोलि पनि गरिरहनेछ । हिजो स्वास्थ्यको क्षेत्रमा काम गर्ने एकाधमानिसहरुको दादागिरीको प्रतिशोध यही मौकामा कसैले साँधेको पनि हुन सक्छ । यदि त्यसो हो भने हिजोको गल्ती पुनरावृत्ति नगर्ने यो सुनौलो अवसर र सन्देश पनि हो भन्ने मेरो बुझाइ छ, जुन कुरा तपाईँलाई फरक लाग्छ भने त्यसको पनि म सम्मान गर्दछु ,तर तपाईँहरुले सेवा प्रवेश गर्दा राष्ट्र र नागरिकका नाममा खाएको शपथका हरेक अक्षरलाई स्मरण गर्दै ती शब्दलाई शिरोधार्य गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।

म … ईश्वरका नाममा शपथ लिन्छु कि नेपाल स्वास्थ्य सेवाको कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान,विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी , देश र सरकारप्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी, लोभ, लालच, मोलाहिजा नगरी अनुशासनमा रही स्वास्थ्य सेवा नियमावली २०५५ तथा प्रचलित कानूनको व्यवस्थाको अधीनमा रही अधिकृत व्यक्तिलाई बाहेक अरु कसैलाई म सेवामा वहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले भन्ने वा संकेत गर्ने छैन । यी शपथका शब्दले तपाईँहरुलाई इमान्दार , कर्तव्यनिष्ठ र सेवामा समर्पित हुँदै राष्ट्र र नागरिकप्रति बफादार रहन अभिप्रेरित गरेको छ भन्नुमा कसैको विमति नहोला । सेतो कोट लगाएपछि मन पनि सेतो अर्थात् सफा नै हुनुपर्छ । सेतो कपडाभित्र कालो मन छिप्यो भने त जरुर यो समाजले अपमान नै दिन्छ । जसले समाजप्रति गद्दारी गरेको हुन्छ, उसले समाजबाट सम्मानको अपेक्षा गर्न पक्कै पनि मिल्दैन । आजतपाईँहरुको खटाइ प्रशंसनीय छ । कतिपय स्वास्थ्यकर्मी साथीहरु सेवाकै दौरानमा आफै कोरोनाको सङ्क्रमित बन्नुभएको छ । क्वारेन्टिनमा रहेका नागरिकको सेवा गर्दा आफै क्वारेन्टिनमा हुनुहुन्छ । आईसोलेसनमा रहेका नागरिकको सेवागर्दा आफै आइसोलेसनमा बस्नु परेको तितो यथार्थ हामीले बुझेका छाँै । खाना,पानी पनि नखाई अनवरत रुपमा बिरामीको सेवामा खटिनुभएको तथ्य कसैबाट छिपेको छैन । इतिहासले सुम्पेको योभन्दा ठूलो जिम्मेवारी भोलिका दिनमा तपाईँहरुले बहन गर्न नपरोस् मेरो कामना छ ।

सत्य यो हो कि तपाईँका पनि घरपरिवार छन् । कतिपय अवस्थामा घरपरिवारबाट पनि अपशब्दहरु सुन्नु परेको छ नै । उसैगरी तपाईँहरुले कोरोनाको पीडाभन्दा छिमेकी र आफन्तबाट खेप्नु परेको अवहेलना साँच्चि डर लाग्दो छ,तर तथ्य यो हो कि युद्धको सिपाही हो तपाईँहरु । आफ्नै प्राणलाई हत्केलामा राखेर आज सेवाको उच्च भाव राखी रातदिन खटिनुभएको छ । यसप्रति जति सम्मान गरेपनि कम नै हुन्छ । आज तपाईँहरु अडिक भएर र निडर भएर हिम्मतलाई बटुलेर जुन बहादुरीका साथ मैदानमा उत्रिनुभएको छ,यो चर्चा गर्न लायक विषय हो ।
स्वास्थ्यकर्मी साथीहरु,यो ऐतिहासिक क्षण चुनौती र अवसर दुवै हो । तपाईँका आँखाले यसलाई अवसर ठान्यो भने आज छिः छिः र दुर्दुर्र गर्ने समाजले भोलितपाईँहरुको सम्मानका खातिर स्यालुट जरुर ठोक्नेछ । साथीहरु नआत्तिनुहोस्, समय बलवान् छ । एकदिन फेरि हामी सामान्य परिस्थितिमा फर्कनेछौं । हामीले अदृश्य युद्धलाई जित्नेछौँ । सफलताको सगरमाथा जरुर चढ्नेछौँ । अब खाँचो छ त केवलउच्च मनोबलको । जब मनोबलनै कमजोर हुन्छ, युद्ध त के आफ्नै मनसँग हारिन्छ । त्यसैले समय सबैभन्दा ठूलो अस्त्र हो । यसैलाई अँगालेर हामी अपमानलाई सम्मानमा बदल्न सक्छौँ । जवाफ शब्दमा होइन काम, कर्तव्य र जवाफदेहितामा दिने बेला आएको छ । विश्व समुदाय हामीसँग छ । यो युद्धलाई परास्त पार्नका लागि केही सकारात्मक संकेतहरु पनि त देखा परेका छन्, जुन प्रयास सार्थक होस् र यो आतङ्कित अदृश्य युद्ध हामी सदाका लागि जित्न सकौँ ।

हिजो विद्यालय तहमा फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेर प्रेरित भई नर्स बनेका हजारौँ महिला हुनुहुन्छ । इटलीमा जन्मेर विश्वका मानिसको सेवामा समर्पित र जीवनको अन्तिम क्षणसम्म सेवा गर्दै बेलायतमा ज्यान गुमाएकी उहाँ तपाईँ हाम्री आदर्श पात्र हुनुहुन्छ ।  फ्लोरेन्सनाइटिङ्गेलजस्तै तपाईँ पनि आदर्श पात्र बन्न सकेमा यस समाजले तपाईँलाई सम्मान नगरी सुखै छैन । नआत्तिनुहोस्, बिचलित नबन्नुहोस् र कर्तव्यमा लागिरहनुहोस् सहजताका दिन छिट्टै सुरु हुनेछन् ।  आज एउटा फकिरको रुपमा नेपालका डाक्टर गोबिन्द के.सी. दूर दराजमा पुगेर निःस्वार्थ भावले सेवा दिइरहनुभएको छ । सयौं चुनौतीहरुलाई पार गर्दै उहाँले नागरिकको सेवामा आफूलाई समर्पित गर्नु कुनै सामान्य खेल होइन । तपाईँहरु मध्ये कतिले त्यो कल्पना गर्नसम्म पनि भ्याउनुभएको छैन होला, तर उहाँले कामलाई कर्तव्य सम्झेर नागरिकको शरीरमा मात्र होइन, मनमा समेत मलम लगाइरहनुभएको छ । यसैले गर्दा उहाँप्रति श्रद्धाले शिर सहर्ष निहुरिन्छ । सम्मान व्यक्तिका खातिर होइन, कर्तव्यबाट च्यूत नभइकन निरन्तर निःस्वार्थ भावले सेवा प्रदान गर्नेप्रति हुन्छ । यो भन्दै गर्दा बिर्सनु हुँदैन कि तपाईँहरु सबैजना सम्मानको लायक हुनुहुन्छ, फरक यत्तिमात्र हो कि योगदानको आधारमा तपाईँप्रति हेर्ने दृष्टिकोण एउटै नहुन सक्छ । मैले एउटा प्रसङ्ग यहाँनेर जोड्नु सान्दर्भिक हुन्छ । एकपटक बादशाह अकबरले मन्त्री बिरबललाई दरबारमा बोलाएर भनेछन्—बिरबल, एउटा यस्तो वाक्य लेख्नुहोस् कि जसलाई सुख र दुःखको दुबै क्षणमा प्रयोग गर्न मिलोस् । बिरबलले निकै बुद्धिमत्तापूर्वक लामो समयको गहन सोचपछि यो वाक्य लेखेर बादशाहलाई सुनाए कि—समय सधैं यस्तै रहन्न ।

यसबाट हामीले बुझौं कि आज जुन कठिन परिस्थिति छ, त्यो भोलि जरुर रहन्न । आजको यो दिन आउला भनेर हामीले हिजो कल्पना गरेका थिएनौँ जुनबेला हामी सहज अवस्थामा थियाँै । हिजोको सहजता आज जसरी जटिलतामा बदलिएकोछ, त्यसरी नै यो कठिन परिस्थिति फेरि सहजतामा जरुर परिणत हुनेछ । मात्र यत्ति हो कि हामीमा धैर्यर सहनशीलता हुन जरुरी छ । हरेक रातपछि सुनौलो बिहानी आउँछ भन्ने बिर्सनुहुँदैन । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने तथ्यलाई भुल्नुहुँदैन ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेले हामीलाई सुन्दर शब्दहरु छोडेर जानुभएको छ :नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।।यही भावार्थ अहिलेको परिस्थितिमा स्वास्थ्य क्षेसँग पनि जोडिएर आएको छ । आज हामी सर्वसाधरणले स्वास्थ्कर्मीप्रति विश्वास नगर्ने हो भने, सम्मान र प्रोत्साहन नगर्ने हो भने हामी रोगबाट प्रभावित हुँदा उपचार कहाँ र कोसँग गर्ने ? जसले हाम्रो उपचार गर्ने हो उही व्यक्ति नै आफै हीनताबोधको भारी बोकेर हिँड्यो भने के हामीले सोचेजस्तो उपचार पाऔँला त ? अझ अस्पतालहरु तोडफोड गर्नेर स्वाथ्यकर्मीलाई आतङ्कित पार्ने काम भएका दृष्टान्तहरु हामीमाझ घाम झैँ छर्लङ्गछन् । त्यसैले म भन्छु— उपचार कहाँ गराउँछौ तिमी अस्पताल नरहे । कसलाई गुहार्छौ तिमी स्वास्थ्यकर्मी नै नरहे । । अब अपमानका अपवादहरुलाई आजैबाट बन्द गरेर सम्मानका श्रृङ्खलाहरु सुरुवात गर्न सभ्य नागरिकहरु पछि पर्नु हुँदैन । अहिलेको जटिलतामा सहजता थप्ने काम कसैले गर्न सक्छ भने त्यो स्वास्थ्यकर्मीहरुले नै सक्छन् । यसकारण पनि स्वास्थ्यकर्मीहरु सम्मानका लागि योग्य हुनुहुन्छ ।स्वास्थ्यकर्मी साथीहरु, आफ्ना स्वार्थहरुलाई तिलाञ्जली दिदै र समाजको आवश्यकतालाई पहिलो प्राथमिकता दिएर अगाडि बढनुहोस्, तपाईँहरु कहिल्यै पनि अपमानित र तिरष्कृत हुनुपर्ने छैन । हिजो तपाईँहरुप्रति जेजस्तो सम्मान थियो, आज पनि छ र भोलि पनि निरन्तर जारी रहनेछ । अपमानको सानो बाछिटाले छ्याप्यो भन्दैमा बाढीले नै बगाएको कल्पना नगरी वास्तविकताको धरातलमा रहेर निरन्तर सेवामा तल्लीन रहनुहोस् । तपाईँहरुलाई सधै साथ, समर्थन र सम्मान सबै नागरिकको रहनेछ । सीमित साधन र स्रोतमा पनि सम्पूर्णता देखेर काम गरिरहनु भएका तपाईँयोद्धाहरुप्रति नागरिक समाज आज नतमस्तक छ ।  सलाम छ, सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुलाई, जो निःस्वार्थ समाजको सहयोगका लागि समर्पित हुनुहुन्छ । नमन र साधुवाद सङ्घर्षको अग्रमैदानमा रहने अस्त्र बिनाका सिपाहीहरुलाई । प्रणाम छ, परमेश्वरको रुपमा प्राण बचाइरहनुभएकापवित्र मनका धनीस्वास्थ्यकर्मी साथीहरुलाई ।
अन्त्यमा–
आफ्ना सबै कामलाई त्यसै राखी थाती
जनताको स्वास्थ्यलाई शिरमाथि राखी ।
भोकतिर्खा नभनेर खट्ने रातदिन
स्वास्थ्यकर्मी सबैलाई कोटी नमोनम ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे