वालिङको आईसोलेसन खाली

प्रकाशित मिति:

तोलाकान्त बगाले , वालिङ, १७ भदौ । वालिङ नगरपालिकाले कोभिड १९ लाई लक्षित गरी स्थापना गरेको आईसोलेसन खाली भएको छ । बुधबार आईसोलेसनमा बस्नेहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि १४ दिन होमक्वारेन्टिनमा बस्ने गरी घर फिर्ता गएसँगै आईसोलेसन खाली भएको हो ।

वालिङ नगरपालिकाले वालिङ खेलमैदानस्थित समाज घरहरुमा निर्माण गरेको आईसोलेसन तथा क्वारेन्टिन सेन्टरहरुमा बस्दै आउनुभएका १६ जनाको रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । कोरोना संक्रमित भई आईसोलेसनमा बस्नुभएका २ जना र क्वारेन्टिनमा बस्नुभएका १४ जना गरी कूल १६ जनाको बुधबार रिपोर्ट नेगेटिभ आएपछि नगर प्रमुख दिलीपप्रताप खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले विदाई गर्नुभएको हो । संक्रमितहरुको उच्च मनोबल, धैर्यता र आत्मबलका कारण कोरोनामाथि जित हासिल गर्न सफल हुनभएकोमा नगर प्रमुख खाँणले खुशी ब्यक्त गर्नुभयो ।

नगरपालिकाले स्थापना गरेको आईसोलेसन तथा क्वारेन्टिनबाट विदाई भएर जानुहुनेहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्नका लागि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले सुझाव दिनुभयो ।देशका विभिन्न शहर, भारत तथा तेस्रो मुलुकबाट वालिङमा आउनुभएका वालिङका ७९२ जनाको हालसम्म पिसीआर टेष्ट गरिएकोमा ६१ जनामा कोरोना पुष्टि भएको र निको भई घर फर्किएका र एक जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो । हाल वालिङ नगरपालिकाको क्वारेन्टिनमा ६ जना छन् । उनीहरुको स्वाब संकलन गर्ने तयारी भएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।