गल्याङ नगरपालिकामा विपन्नको घर निर्माण अभियान सुरु

१८ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


गल्याङ । प्राकृतिक प्रकोप पीडित तथा अति बिपन्न परिवारका लागि स्याङ्जाको गल्याङ नगरपालिकामा घर निर्माणको काम सुरु भएको छ ।  गल्याङ नगरपालिकाको सहकार्यमा गल्याङ नगरपालिका वडा न.१० पकवादीमा क्रियाशिल ६ वटा युवा क्लबले जनश्रमदान गरी विपन्न परिवारको घर निर्माण गरिने भएको हो ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आवास निर्माण कार्यक्रमको शिलान्यास गरी घर निर्माणको अभियान सुरु भएको घोषणा गर्नुभएको छ । उहाँले आवास निर्माणको लागि आवश्यक सामाग्री र युवा क्लबका सक्रिय सदस्यहरूलाई टिसर्ट वितरण गरि आवास निर्माण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।शुभारम्भ कार्यक्रममा नगरप्रमुख अधिकारीले गरिब र विपन्नहरुको उद्दार नभएसम्म विकास नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो –‘बाटो पुगेको छ तर बस्ने घर नै छैन भने त्यसलाई कसरी विकास मान्ने ?’
नगरप्रमुख अधिकारीले अति विपन्नहरुको आवास निर्माणका लागि जति खर्च गर्नुपरे पनि आफु तयार रहेको बताउनुभयो । उहाँले भाषण र कुरा गरेर मात्र केही नहुने भन्दै काम गरेर मात्रै सम्बृद्व सम्भव रहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले पार्टीहरुले भन्ने गरेको समाजवादको थालनी भएको भन्दै अब धनी भन्नेहरुले गरिवीको पिडा हेरेर बस्न नहुने बताउनुभयो ।
सक्नेले नसक्नेका लागि काम गर्नुपर्ने बेला आएको भन्दै उहाँले घर निर्माण सुरुवात मात्रै भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘यो अभियान गल्याङ १० बाट सुरु भएको छ, ११ वटै वडामा हामी सबै विपन्न परिवारको घर बनाएरै छाड्नेछौं ।’
यो सँगै कृषि पशुपालन लगायतका क्षेत्र मार्फत स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई पनि सँगसँगै अगाडी बढाउने उहाँले बताउनुभयो । गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले नगरपालिका सधैं विपन्नहरुको साथमा रहेको बताउनुभयो । उहाँले खरका छाना हटाई जस्ता पाता लगाउने कार्यलाई पनि यसै वर्ष पुरा गरिने बताउनुभयो ।उहाँले नगरपालिकाले हरेका वडामा रहेका बिपन्नको पहिचान गरि उनीहरुको जीवनस्तर उकास्न सहयोग र सुरुवात गरेका कार्यहरु समयमै सहि तरिकाले सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।शुभारम्भ कार्यक्रममा जिल्ला पुर्वाधार प्रमुख लक्ष्मी प्रसाद भण्डारीले गल्याङ नगरपालिकाले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

त्यस्तै गल्याङ नगरपालिका प्रमुख प्रसासकिय अधिकृत इश्वरीप्रसाद पाण्डेले नगरपालिकाबाट एउटा नमूना कार्यक्रम कार्यक्रम सुरु भएको भन्दै यसले अन्य पालिकामा र समग्र देशमै मोडेलको रुपमा काम गर्ने बिश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष ध्रुव शर्मा पंगेनीले आफ्नो वडामा क्रियासिल युवा क्लबले निशुल्क श्रमदान गर्न तयार भएको भन्दै आभार व्यक्त गर्नुभयो । सुरुवातमा नगरपालिकाको वडा न. १० का अति बिपन्न पाँच परिवारलाई भुकम्प प्रतिरोधी २ कोठे पक्की ५ वटा घर बनाइने भएको छ । निर्माण सामाग्री नगरपालिकाले उपलब्ध गराउने र निर्माणको काम स्थानीय आठ वटा युवा क्लबले गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया