कोभिड १९ सम्बन्धमा यु.सि.यम.यस.को धारणा

प्रकाशित मिति:

भैरहवा । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भई स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न कटिबद्ध रहेको यहाँहरुलाई अवगत नै रहेको छ । यसै परिपेक्ष्यमा हाल विश्वव्यापी रुपमा पैmलिरहेको कोरोना भाईरस  ले मानव सभ्यतालाई नै चुनौती दिईरहेको छ । दैनिक रुपमा देशका विभिन्न कुना काप्चाबाट उपचार गर्न आउने नियमित विरामीहरु, कोभिड १९ का आशंका गरिएका तथा संक्रमित विरामीहरुको उपचार यस अस्पतालमा भइरहेको छ । यसरी अस्पतालमा कोभिड १९ का आशंका गरिएका तथा संक्रमित विरामीहरुको उपचारमा अग्रभागमा खटिएका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षा तथा विषम परिस्थितीमा उनीहरुको मनोबल उच्च राख्नु हामी सबैको दायित्व पनि हो । यस सन्दर्भमा पहिलो पंक्तिमा संलग्न स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै अस्पतालले साधन र स्रोतले भ्याएसम्म विश्व स्वास्थ्य संगठन, नेपाल सरकारको मापदण्ड तथा निर्देशन अनुरुप अत्यावश्कीय सुरक्षा र सेवा प्रदान गर्दै आइरहेको छ ।

यस अस्पतालमा उपचार गर्न आउने विरामीहरु तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ को संक्रमणबाट वचाउन अस्पताल प्रशासनले उच्च सतर्कता अपनाएको छ । यसका लागि उपचारका क्रममा आएका शंकास्पद विरामीहरुलाई ज्वरो क्लिनिक  मा प्रारम्भिक जाँच गरि आशंका गरिएका ती विरामीहरुलाई नियमित विरामीहरु भन्दा छुट्टै स्थानमा उपचारका लागि आकस्मिक कक्षमा नै अलग्गै ३० वेडको २ वटा भेन्टिलेटर सहितको आकस्मिक आइसोेलेसन , ३ वटा कक्षसहितको आकस्मिक ओ.टी.तथा छुट्टै ३० वेडको होल्डिङ्ग वार्ड को व्यवस्था गरिएको छ । जाँचका क्रममा PCR परिक्षणमा पोजिटिभ देखिएका उपचाररत विरामी तथा स्वास्थ्यकर्मीहरुको उपचारको लागि निर्धारित मापदण्ड अनुसार ५० वेडको आइसोेलेसन वार्ड १ (Isolation Ward 1) तथा आइसोेलेसन वार्ड २ (Isolation Ward 2) को व्यवस्था पनि गरिएको छ । गंभिर प्रकृतिको संक्रमित विरामीहरुको लागि फेरि छुट्टै २ वटा भेन्टिलेटर सहित ८ वेडको कोभिड आई.सि.यु.=(Covid ICU) को समेत व्यवस्था रहेको छ ।

विना कुनै भेदभाव दिनरात नभनी विरामीहरुको उपचारमा खट्ने क्रममा हालसम्म २०७७ आषाढ पहिलो साता यता १९५ वटा PCR परिक्षण गरिएकोमा यस अस्पतालमा कार्यरत ३९ जना स्वास्थ्यकर्मीहरु कोभिड १९ बाट संक्रमित हुन पुगेको जानकारी गराउँदछौं । जसमा १२ जना चिकित्सक, २० जना नर्सिङ्ग कर्मचारी, ३ जना टेक्निसियन, १ जना प्रशासनिक कर्मचारी तथा ३ जना वार्ड एटेन्डरहरु रहेको छ । जस मध्ये ७ जना स्वास्थ्यकर्मी निको भइसकेको छ भने १६ जना होम आइसोलेशनमा, १३ जना अस्पतालको आइसोलेशन वार्डमा, ३ जना कोभिड आई.सि.यु.मा रही उपचार भईरहेको छ । साथै उपचाररत अन्य विरामीहरु मध्ये ३ जना विरामीहरु आइसोलेशन वार्डमा र १ जना कोभिड आई.सि.यु. मा उपचार भईरहेको छ । आजको दिनसम्म सवै उपचाररत विरामी तथा स्वास्थ्यकर्मीहरुको अवस्था स्थिर रहेको छ ।

फरक–फरक संक्रमणबाट संक्रमित विरामीहरुको उपचारको लागि अस्पतालले अलग–अलग निर्धारित स्थान तथा निर्धारित स्वास्थ्यकर्मीहरुबाट उपचार गरिने भएकाले प्रत्येक विरामीको उपचार व्यवस्थित र संक्रमणविहिन रुपमा गर्न हामी प्रतिबद्ध छौं । तर अस्पतालले हालसम्म नेपाल सरकारबाट कुनै पनि किसिमको सेवा–सुविधा प्राप्त नगरेको, स्वास्थ्य सुरक्षा तथा अन्य सामग्रीहरुको मुल्य र सहज प्राप्तिमा कठिनाई भएको, अग्रपंक्तिमा रही उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुकै PCR नमुना संकलन र परिक्षणको रिर्पोट समयमा उपलब्ध हुन नसक्दा स्वास्थ्य प्रवाहमा नै प्रत्यक्ष प्रभाव पारेको, स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाईन मा लाग्ने खर्च आदिले नगद प्रवाहमा असर गरेको, संक्रमणको जटिल अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्दा आवश्यक मापदण्ड अनुसार कार्य गर्नुपर्ने हुँदा अनावश्यक दबाव तथा भ्रम सृजना गर्ने खालका क्रियाकलाप इत्यादि समस्याहरु यथाशिघ्र सम्बोधन गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, स्थानिय प्रशासन, राजनीतिक दल, संचारकर्मी तथा नागरिक समाजमा हार्दिक अपिल गर्दछौं ।