नेपाली काङ्ग्रेस नवलपरासीका उपसभापति गिरिको उपचारमा लापरबाही भएको भन्दै कारवाहीको माग

१८ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने                                                        भदौ १८ गते                                                नवलपरासी । पश्चिम नवलपरासीका नेपाली कांग्रेसका उपसभापति शुभाष चन्द्र गिरीको उपचारको क्रममा अस्पतालले चरम लापरवाही गरेको भन्दै छानविनको माग गर्नु भएको छ ।

पश्चिम नवलपरासी कांग्रेस उपसभापति शुभाष चन्द्र गिरीको मृत्युको विषयलाई लिएर गिरीकी पत्नीले युनिभर्सल मेडिकल कलेज भैरहवाले चरम लापरवाही भएको भन्दै छानविनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिनुभएको छ । कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै पश्चिम नवलपरासीका राजनीतिक दल, संघसंस्था र परिवारजनहरुले छानविन गर्न सरकारसँग माग गरेका छन् । परिवारजनले पनि सामान्य अवस्थामा अपरेशन गर्न पुगेका गिरीको अपरेशनका क्रममा लापरबाही हुँदा मृत्यु भएकोले चिकित्सक र अस्पताललाई कारबाहीको मागसहित जिल्ला प्रशासनमा निवदेन दिएका छन् ।

नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाज, किसान हकहित संरक्षण मञ्च लगायतको परासीमा बसेको सर्वपक्षीय बैठकले घटनाको छानविन सहित दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई बुधबार ज्ञापन पत्र बुझाउँदै उनीहरुले अपरेशनका क्रममा चिकित्सकहरुले गरेको लापरबाहीलाई ढाकछोप गर्न कोरोना संक्रमणको कारण देखाइएको भन्दै छानविन गर्न माग गरेका हुन् । परिवारका अनुसार अपरेशनपछि वार्डमा सारिएका गिरीलाई तत्काल ज्वरो आउने, छाती दुख्ने र बान्ता आउन थालेको थियो । सामान्य औषधि दिएर उनलाई घर पठाइएको र अवस्था नसुधारिएपछि पुनः मेडिकल कलेज लगिएको मृतककी श्रीमती अनिता देवीले बताउनु भयो । त्यसपछि मात्र उनको कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा कोरोना पोजेटिभ आएपछि तत्काल गिरीलाई बुटवलस्थित कोरोन अस्पताल हुँदै पाटन अस्पताल पठाइएको थियो ।

गिरीलाई संक्रमण देखिएपछि परिवार र पाटन अस्पताल लैजादा एम्बुलेन्समा सँगै गएका भाईको कोरोना परीक्षण रिपोर्ट समेत नेगेटिभ आएको थियो । कोरोना परीक्षण नगरी अपरेशन गर्नु र सम्पर्कमा रहेका परिवारजनका सबैको रिपोर्ट नेगेटिभ आउनुले गिरीको कोरोनाबाट नभई अपरेशनकै क्रममा भएको लापरबाहीले मृत्यु भएको भन्दै सर्वपक्षिय प्रतिनिधिहरु र परिवारजनले घटनाको छानविन गरी दोषिलाई कारबाहीसहित क्षतिपुर्तिको माग गरेका हुन् । नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया