संसारले खोजेको खुशी !

२१ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


जुुना कुुंँवर
हामी भन्छौं, श्रम गर्नु भनेको काम गर्नु हो,काम गर्नुलाई हामी ‘दुःख गर्नु’ भन्छौं । के त्यसो भए श्रमको अर्थ दुःख हो ? श्रमको मर्म र महत्वलाई हामीले यसरी अपव्याख्या गर्नु ठिक होइन । सार्थक ढंगले गरिने कुनैपनि श्रमले मान्छेलाई सफलताको उचाईमा पुर्‍याउँछ । श्रमले बाँच्न सिकाउँछ अनि जीवनको सार्थकता बुझाउँछ।श्रम गर्नु भनेको संघर्ष गर्नु पनि हो, संघर्षले नै जीवन सार्थक बनाउँछ यसर्थ श्रम कुनै दुःख होइन,सन्तुष्टि र खुशीको खेति हो ।

‘श्रम गर तर फलको आशा नगर” सार्थक ढंगले गरिएको कुनैपनि श्रमले नतिजा त दिन्छ नै तरपनि श्रम गरिरहँदा त्यसको नतिजाप्रति अति आशक्ति रहनु उचित होइन किनकि स्वार्थले मानिसलाई दुख दिन्छ तसर्थ श्रम गर्दा कुनै नकारात्मक आवाजले मनको ठाउँ त पाएँन भनेर उक्त आनन्दमा खुशी र सुख मान्नु पर्छ।धार्मिक भाषामा सार्थक र सही श्रमलाई नै धर्मको अंश मानेको छ अतः श्रमप्रति इमान्दार र अनुशासित रहन प्रेरित गरेको छ। यस किसिमको श्रमबाट सुख र शान्ति प्राप्त हुने बाटो देखाइएको छ । हाम्रो मनस्थिती नै यस्तो भएको छ कि, श्रमलाई हामी दुःख ठान्छौ त्यही कारण आज हामी श्रम गर्नबाट जोगिन्छौ । हामीलाई श्रम गर्न आज लाज लाग्छ परिश्रम गर्नु भनेको सानो हुनु हो अनि श्रम गर्दा दुःख हुन्छ भन्ने बुझाई छ र वर्तमान समाजले पनि श्रमको अपव्याख्या गर्दै श्रमलाई दुःख र श्रम गर्नेलाई ‘दुखी’ मानिन्छ यही बुझाईको कारण आज श्रम गर्नेलाई हामी कमजोर दृष्टिले हेरिरहेका छौ ।

जबकी श्रम नै सुखको उत्तम स्रोत हो तर बिर्सिएर पानीको मूललाइ बन्द गर्ने अनि धाराको पानीबाट प्यास मेटाउन खोज्नु हाम्रो आधुनिकताको नाममा भुल गरिरहेका हुन्छौँ । सुकिलो र सफा लुगा लगाउदैमा,भान्सामा महँगो पाक्दैमा खुशी सम्झनु देखावटी खुशीमा छौ अनि अरुको प्रतिस्पर्धामा आफ्नो मन,घर,परिवार,पद,प्रतिष्ठा र रहर बिर्सिएर त्यहि होडमा छौ ।

जुन अनुभूति नसक्दै मनमा तनाब पैदा हुन्छ साथै खुशी दिर्घकालिन रहन सक्दैन अनि हामि जिबनबाट हतोत्साहित हुन्छौ र जीवन भनेको दुख रहेछ भनेर नकारात्मक बुझ्छौ । खासगरी शारीरिक श्रम आज एक लाज लाग्ने विषय बनेको छ। श्रमप्रतिको यस्तै बुझाईमाथि कटाक्ष गर्दै एक पश्चिमी विचारकले भनेका थिए, ‘अब एक जमाना यस्तो पनि आउनेछ कि, मान्छेले आफ्नो प्रेम पनि कामदारलाई गर्न लगाउनेछन् अनि जिबनका सम्पूर्ण खुशी आउने बाटा बन्द हुनेछन र अरुको खुशिप्रतीको डाहले मन जल्नु बाहेक विकल्प रहने छैन किनकी मानिसको शरीर श्रमका लागि निर्मित भएको हो । श्रम मानसिक तथा शारीरिक दुबै किसिमको हुन्छ । हामी आज मानसिक श्रम गर्नेलाई उच्च र शारीरिक श्रम गर्नेलाई कमजोर ठान्ने गर्छौं । जबकी शारीरिक श्रम नै मानिसको चेतना र उर्जा जगाउने अनिवार्य स्रोत हुन् ।

आफु पनि श्रम गर्देनौ अनि अरुले श्रम गर्यो भने पनि उ प्रतिको ब्यबहार पनि नकारात्मक गर्छौ ताकी आफु र अर्कोलाइ दुखि बनाउन प्रोत्साहित गर्छौ lयसको अर्थ के हो भने, जीवनमा खुशीले बाच्नुको सोझो सम्बन्ध हामी गुमाउँदैछौ ।प्रकृतिसँग हाम्रो सोझो सम्बन्ध हाम्रो श्रमको सम्बन्ध हो l जब मानिस श्रमबाट टाढा हुन्छन्, तब उनीहरु जीवनको खुशीबाट टाढा हुन्छन् । जीवन र श्रम समानार्थक हो । जीवन र श्रमले एकै अर्थ राख्छ तर, अहिले हामी सुविधाभोगी हुने बहानामा सुखको खोजीमा श्रम त्याग्दैछौ श्रम गर्नबाट पन्छिदैछौं अनि खुशीलाई लुटाउछौँ ।

संसारमा जति पनि बिज्ञ, बैज्ञानिक ,बरिष्ठ र सफल ब्याक्ति छन् ति सबै शारीरिक श्रम भन्दा पनि मानसिक श्रमको कारणले सफल छन् । जुन ब्यक्ति दिन ,महिना, वर्ष नभएर बर्षौ ,दशकौ वा जीवन खर्चेका हुन्छन त्यो जिबन खर्चेर पाएको आनन्द स्वर्ग समान हुन्छ । तर आधुनिकताको अहङ्कारमा सुखको खोल ओडेर दुखि भएका मानिसको कमि छैन यदि भौतिक सम्पत्ति खुशीको आधार हो भने संसारका सारा धनि मानिसहरु किन दुखि छन् ?

हामी एकपटक परेको तनावलाई सधैँ नै यस्तो हुन्छ भनेर सम्झन्छौँ, तर त्यस्तो हुँदैनरहेछ। कसैको प्रगती हुँदा हामी संकोच मान्छौ,दुःख पर्दा अत्तालिन्छौँ अनि समाजले पनि दुःख परेकालाई सहयोग गर्दैन, उल्टो हाँसोले उडाउँछ फलस्वरूप तनावबाट उम्कन सकिदैन । हामी धेरै–धरै चाहना राख्छौँ, जुन पूरा हुन असम्भव हुन्छ, अनि छटपटीमा बस्छौँ । हामी आफूभन्दा ठूलोसँग आफूलाई तुलना गछौँ, जसले मन अझै दुःखी बनाउँछ। हामीले आफूभन्दा कमजोर मानिससँग पनि आफूलाई तुलना गर्नुपर्छ, तब मनमा खुसी पैदा हुन्छ।मानिससँग खुसी छ, उमंग छ, उत्साह छ, मानिससँग दुख, पीडा, पीर, चिन्ता पनि छ तर, दुख र सुख एउटै सिक्काका दुई पाटा हुन् । जीवन सधै एकनास रहँदैन । सधै खुसी मात्र र सधै दुख मात्र पनि रहँदैन । एउटा हिन्दी गीतमा भनिएका छन् नि, ‘आनेवाला पल जानेवाला है ।’

दु:ख आउँछ र त्यो समयसँगै बढारिएर स्वत जान्छ । सुख पनि सधै आफ्नो अधिनमा रहँदैन, दुख, पीडा, तनाव, उदासी मानसिक विकार हुन्, जसले हामीले कहिल्यै राम्रो गर्दैन । यस्ता कुराले मानसिक रुपमा हामीलाई कमजोर बनाउँछ । जब हामी मानसिक रुपमै कमजोर हुन्छौं, तब शारीरिक र सामाजिक रुपमा पनि हामी तन्दुरुस्त र सक्षम हुन सक्दैनौ । हरेक समस्याको लागि अरुलाई दोष दिनभन्दा पहिले अन्र्तमनको ऐनामा आफूलाई हेरेर आफ्नो कमजोरीहरु पत्ता लगाउने कोसिस गर्नु पर्दोरहेछ। यदि हामीले आफ्नो मनलाई नियन्त्रण गर्न सिक्यौं भने मात्रै आफूभित्र परिवर्तन भएको महसुस गर्न सकिदो रहेछ । आजकाल सामान्य बोलचालीमा पनि धेरै मानिसहरुको मुखबाट ‘टेन्सन’, ‘स्ट्रेस’ र ‘डिप्रेसन’ जस्ता नकारात्मक शब्द बारम्बार सुनिन्छ । हाम्रो जिन्दगीमा साँच्चै यति धेरै तनाव त ? साँच्चै नै यस्ता कुनै समस्या छन् भने पनि के यसबाट छुटकारा पाउन सकिँदैन ?

हामी सबैले सामान्य जिन्दगीलाई किन यति धेरै जटिल किन बनाइरहेका छौं भनेर एकपटक दिमागले सोच्नुपर्ने बेला आएको छ । नकारात्मक कुरा गर्नु र मनमा उब्जाउनु नै दुखको खेति गर्नु हो । मनमा शान्ती पाउन सबैभन्दा सजिलो छ, यसको लागि नकरात्मक विचारबाट टाढा रहेमा मात्रै पुग्छ । आफु भन्दा नजिकको साथि संसार मै अरु हुन् सक्दैन तर हामी नपाउने आफ्नोलाई नजिकको बनाउछौ अनि सोचे अनुकुल बन्दैन र पुन दुखि बन्छौ ।आजकाल आफूभन्दा ठूलाको कुरा सुनेर घरमा साना बच्चाहरु पनि ‘म धेरै तनावमा छु’ भन्न थालेका छन्। बिनाकारण यस्ता नकरात्मक कुराहरु बारम्बार दोहोर्याउने हो भने यसले अन्तिममा तनाव निम्त्याउन सक्छ । हामी सबैले जीवनमा कुनै न कुनै यस्तो परिस्थितीको सामना गरेको हुन्छौं जतिखेर इच्छाहरु धेरै हुन्छन् तर केहि पनि पुरा हुँदैन ।अर्को स्थिती यस्तो पनि हुन्छ जब हाम्रो अगाडि नचाहेको स्थिती र नचाहेको मानिसहरु आउँछन् ।

हामीलाई त्यत्तिकै रिस उठ्छ र तनाब पैदा हुन्छ त्यसरी जीवन वा परिस्थितिमा आएका ब्यक्ति अथवा बिचारलाई आफुले छान्न जान्नु पर्छ यसको अर्थ हटाउनु होइन आबश्यकता अनुसार प्रयोग गर्न जान्नु हो । एकपटक अरु कुराहरु बिर्सेर आफ्नो बच्चाको बारेमा सोच्नुहोस् । के उनीहरुले तपाईको हरेक कुरा मान्छन् ? मान्दैनन.. भने सोच्नुहोस्, जब हाम्रो बंश हुन् र त बच्चाहरु हामीले चाहे अनुसार चल्दैनन् र हामि पनि मातापिताको चाहना अनुसार चलेनौ अनि अरु नातेदार, साथी वा सहकर्मीसँग किन यस्तो आशा गर्ने ? अलगअलग परिवारबाट आउने मानिसहरुको संस्कार र विचारमा कुनै समानता हुँदैन ।

यसै कारणले पनि अरुसँग तालमेल मिलाउन धेरै मुस्किल हुन्छ । कुनै पनि व्यक्तिको राम्रो वा नराम्रो संस्कार अथवा बानीले उनिहरुको हरेक निर्णयमा प्रभावित बनाउँछ र ब्याक्ति,घर,परिवार,समाज र कार्यालयमा पनि यसै कारणले वैचारिक मतभेद आउँछ । सबैसँग आपसी तालमेल हुँदैन । सबैको स्वभाव एकजस्तो हुँदैन भन्ने थाहा हुँदाहुँदै स-साना कुराको लागि आपसमा विवाद बढाएर आफ्नो महत्वपूर्ण समय, उर्जा र मनको शान्ती किन नष्ट गर्ने ?आजकाल धेरै मानिस आफै परिवर्तन हुनको सट्टा अरुको व्यवहारलाई नियत्रण गर्ने कोसिस गर्छन् । यसले उक्त व्यक्तिमा कुनै बदलाव आउँदैन तर नियन्त्रण गर्न खोज्ने मानिसको मन भने तनावग्रस्त हुन्छ र विस्तारै डिप्रेशनको शिकार हुन सक्छन् ।

यस्ता मानिसहरुलाई अरुको बारेमा रातदिन सोचेर आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई कति धेरै नोक्सान गरिरहेका छु भन्ने अलिकति पनि हेक्का हुँदैन ।त्यसैले अरुको कारण तनावग्रस्त र क्रोधित हुन हुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । हामीले अरुबाट धेरै आशा पनि राख्नुहुन्न किनभने कसैले हाम्रो अपेक्षाअनुसार व्यवहार गरेन भने बिनाकारण हाम्रो मनमा रिस र तनाव पैदा हुन्छ अनि अरुलाई आफु जस्तो बनाउन खोज्नु पनि हाम्रो कमजोरी हो साथै आफु अरु जस्तो बन्न खोज्नुले आफ्नोपन हराउछ । आ-आफ्नो काम ,कर्तब्य र अधिकार आफ्नै पक्षमा उभिएर प्रयोग गर्नु संसारको सबै भन्दा खुसि हुने सरल बिन्दु होरहेछ।

घर, कार्यालय जहाँ भए पनि यदि कसैले नराम्रो व्यवहार गरेर तपाईको मनोबल तोड्ने कोसिस गर्छ र भने उनिहरुसंग बहस गरेर आफ्नो उर्जा नष्ट नगर्नुहोस् । उनीहरुसँग विवाद गर्दा उनीहरुको जस्तो नकारात्मकता तपाईमा पनि देखिन्छ । याद गर्नुभएको छ, जब कहिले काँहि रिसको झोँकमा कसैलाई गाली गर्नुहुन्छ तरपनि यसले उसलाई केहि पनि छुँदैन। हामी कसैलाई एक मिनेट गाली गर्छौं तर, यसले उल्टै दिनभर हाम्रो मन अशान्त हुन्छ र किन यस्तो भइरहेको छ भनेर हामी सोच्न सक्दैनौं ।वास्तवमा हामीले गरेको हरेक राम्रो र नराम्रो काम हामीसँगै आउँछ । यसको विपरित यदि कसैलाई प्रेम र सम्मान गर्छौं भने स्वतः हाम्रो मन खुसी र उत्साहित हुन्छ ।

खुसीको आधार हो काम  – हामी सबै एकअर्कासँग राम्रो वा नराम्रो व्यवहारको माध्यमले जोडिएका हुन्छौं । यदि तपाई दिनभर खुसी रहन चाहनुहुन्छ भने अरुलाई सम्मान र प्रेम गर्नुहोस् ।हामीलाई खुसी पाउन अरु केहि गर्ने जरुरी नै पर्दैन, राम्रो काम नै हाम्रो खुसीको आधार हो । यदि तपाईले आफ्नो अन्तर्मनलाई राम्रोसँग चिहाउनुभयो भने खुशी आफ्नो मनको भित्र नै रहेको पाउनुहुन्छ । यदि तपाई वास्तवमा आफ्नो वरिपरिका मानिसहरुको राम्रो चाहनुहुन्छ भने आफ्नो मनको प्रतिक्रियामा ध्यान दिनुपर्छ र अरुको व्यवहारमा तपाईको प्रतिक्रिया गलत हुन हुँदैन ।सन्तुलित व्यवहारले वरिपरिका तनावमा बाँचिरहेका मानिसहरुलाई पनि खुसी हुने कला सिकाउनु नै सुखमय जीवनको आधार हो । यो पारिवारिक मात्रै हैन व्यावसायीक सम्बन्धमा पनि लागु हुन्छ । हामि भौतिक देखावटी सम्पत्तिको लागि जीवन भरि दुखि हुन्छौ । संसार सानो छ भोलि जहाँ जोसंग जतिबेला पनि भेट हुन् सक्छ तर भेट्दा शिर ठाडो पारेर् हार्दिकतासंग भेट्न सक्नु अमुल्य सम्पत्ति हो । खुशी सानो सानो कुरामा हुन जान्नु पर्दछ । आफ्नो लागि भन्दा अरुको खुशीको लागि सानो काम गर्दाधेरै खुशी प्राप्त गर्न सकिदो रहेछ । संसारको सबै भन्दा खुशी आफ्नो मनमा छ त्यसलाई चिन्न सक्नु पर्छ् l खुशी आर्थिक र भौतिक बस्तुले मात्र प्राप्त हुदैन त्यो महशुस मात्र हो । आफ्नो मनलाई त बुझाउन सकेनौ भने हाम्रो कुरा अरुलाइ कहिल्लै सुनाउन सक्दैनौ तसर्थ संसार र खुशी मनमा र काममा छ । खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।
खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ । खुशी दीगो कल्याणको अनुभूति हो। यो मनमा शान्ति र जीवनमा सन्तुष्टिको भाव हो ।

खुशी एक यस्तो मानविय संवेग हो, जसमा व्यक्तिले आफूलाई निकै गौरवशाली, प्रतिभाशाली र एक महान व्यक्तित्व ठान्दछ । जुन कुराले तपाईलाई आत्मसन्तुष्टि दिन्छ त्यही हो खुशी तसर्थ जीबन छदा अर्थात जीबन पश्चात भौतिक सम्पत्तिको धनि हुनु भन्दा मनको सम्पत्तिको धनि बन्ने प्रतिस्पर्धा गरौ । आफ्नो मन खुशी बनाउन कुनै लगानी र सहयोगको आबश्यकता पर्दैन ।
‟खालि मन नै दुखको कारण हो सक्दो श्रम गरौ, खुशी हुने सर्बोत्तम स्थान मन अनि खुशी बनाउने सर्बोत्तम साधन प्रयाप्त काम”

फेसबुकबाट तपाईको प्रतिक्रिया