स्याङ्जामा फेरी बढ्यो कोरोना : पुतलीबजारमा कोरोनाको जोखिम बढ्यो

२१ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल – स्याङ्जा—२१ भदौ : कोरोना संक्रमण मुक्त हुने तयारीमा रहेको स्याङ्जामा फेरी एकैपटक ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिए पछि कोरोना मुक्त जिल्ला बन्ने तयारी पुरा हुन सकेन । एकै पटक थपिएका कोरोना संक्रमित पुतलीबजार नगरपालिकामा रहेका छन् । पुतलीबजारमा संक्रमितको संख्या थपिए पछि जोखिम बढ्न थालेको बताइएको छ । प्रहरीले केही दिन अगाडी जुवातास खेलीरहेका मानिसलाई पक्राउ गरेको थियो । जुवातास खेलेका मानिसमा कोरोना संक्रमण देखिएपछि पुतलीबजारको समुदायमै कोरोना संक्रमण हुन सक्ने अनुमान गरिएको छ ।  स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष । संक्रमित हुनेमा पुतलीबजार नगरपालिका १ का ८ जना, १३ का २ जना, ३ का ४ जना र १४ का ८ जना रहेका छन् ।

संक्रमित थपिनेमा वडा नं. १ का २७, ७६, ३४, ३०, ३५, २४, ५५, ४५ बर्षका छन । वडा नं. १३ का ४७ र ४६ वर्षका छन । वडा नं. ३ का ४७, ४४, ५२ र ५० बर्षका र वडा नं. १४ का ४४, ३९, ३६, ३५, ३०, ३८, ५७, ४६ बर्षका पुरुष हुन । थपिने मध्येमा १९ जना तास खेल्नेहरु, दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । यसैसाता, प्रहरीले छुट्टाछुट्टै २ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो । यसरी पक्राउ पर्ने २२ जना थिए । अन्य ३ जनामा भने कोरोना संक्रमण नेगेटिभ देखिएको बताइएको छ । भारत र मलेसियाबाट फर्केका २ जना पनि क्वारेन्टाइनमा बसेका मध्येका हुन भने एकजना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पिसिआर परिक्षण गराउदा पोजिटिभ देखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

संख्या बढ्दा डराईहाल्ने अवस्था त छैन प्रजिअ क्षेत्रीले भने,“संक्रमितका परिवार र छिमेकीहरुको स्वाव परिक्षण पछि आउने नतिजाले के गर्ने भन्ने निर्णय गर्नेछौं ।” कन्ट्याक्ट ट्रेसिङ्बाट पनि पोजोटिभ आएमा पुतलीबजार नगरपालिका शिल हुन सक्ने छ उनले भने । योसंगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ । आइसोलेसनमा बस्नेको संख्या घटेर ५ जना पुगेका बेला आइतवार बिहान २२ जना थपिएसँगै २७ पुगेको प्रजिअ क्षेत्रीले बताए । कोरोनाका कारण २ जनाको भने मृत्यु भएको छ भने ३ सय ८ जनाले कोरोना जितेर घर फर्केका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया