कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकाको कलेज छुट्याउन सफल

प्रकाशित मिति:

अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो। सर्जरीमा करिब डेढ दर्जन बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । उक्त सर्जरीबाट उनीहरुको जोडिएका अंगलाई अलग अलग रुपमा बाँडिएको छ। चिकित्सकहरुका अनुसार उनीहरुको शरीरको मुख्य भागका साथै कलेजो समेत जोडिएको थियो। चिकित्सकहरुले कलेजो छुट्टयाउने प्रक्रिया आफूहरुले सोचेभन्दा अलि कठिन रहेको बताए पनि उनीहरुलाई सफलतापूर्वक अलग गरिएको छ। चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत रहेको बताएका छन्। उनीहरुको सर्जरीमा सर्जनहरुका साथै, एनेस्थेटिस्टस र नर्सहरुको टोली सहभागी थियो। चिकित्सकहरुले यस किसिमको सर्जरी सामान्य नरहेको बताएका छन्। केही साताअघि नै हुनपर्ने उनीहरुको सर्जरी बालिकाहरुको शरीरमा पर्याप्त पौष्टिक पदार्थ नरहेको भन्दै पछि सारिएको थियो। ३ लाख ५० हजार डलर (करिब ३ करोड रुपैया) खर्च लागेको बताइएको उक्त सर्जरीको सबै खर्च भिक्टोरिया राज्य सरकारले तिरिदिएको छ। उनीहरु उपचारका लागि मेलबर्न आएको केही समयपछि भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रयुले उनीहरुको खर्च आफ्नो सरकारले व्योहोर्ने आश्वासन दिएका थिए। यसैगरी बिरामीको हेरचाह तथा परिवारलाई अष्ट्रेलियामा रहनका लागि सहयोग गर्ने उद्देश्यले सार्वजनिक रुपमा सहयोग समेत संकलन गरिएको थियो।