संस्कारले मान्छेलाई सभ्य बनाउँछ

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


संस्कृति शब्द ‘संस्कृ’ धातुमा क्तिन् प्रत्यय लागेर बनेको हो । यसको शाब्दिक अर्थ राम्रो स्थिति भन्ने हुन्छ । व्याकरणिक अर्थमा यसको अर्थ जे भए पनि यसले बोकेको भावार्थ भने धेरै फराकिलो छ । जस्तो संस्कृति भन्ने शब्दले ‘उच्च’, ‘सभ्य’ र सुधारिएको भन्ने अर्थ बोको हुन्छ । अर्थात््, संस्कृति त्यतिबेलासम्म परिवर्तन हुँदैन जतिबेला संस्कृतिमान्नेमा सुधारको आवश्यकता महसुस हुँदैन ।

अर्कोतर्फ संस्कार संस्कृतिभन्दा भिन्न कुरा हो । हामी जन्मभन्दा पहिलेदेखि मृत्युपर्यन्त १६ किसिमको कर्म गर्छौं, त्यो हाम्रो संस्कार हो । त्यही संस्कार गर्ने बेलामा जुन विधि अपनाउँछौं त्यो संस्कृति हो । जस्तो विवाह हाम्रो संस्कारभित्र पर्छ भने विवाहमा दौरा सुरुवाल वा अरू पोषाक लगाउने हाम्रो संस्कृति हो । सिन्दुर हालेपछि एकअर्काको वैवाहिक कर्म सम्पन्न भएको मानिने संस्कृति हो । संस्कृति समयअनुसार बदलिन्छ तर संस्कार सधैं एकै किसिमको हुन्छ । यही हो संस्कार र संस्कृतिबीचको सबैभन्दा ठूलो फरक । त्यस्तै, संस्कार यस्तो प्रक्रिया हो जसले मान्छेलाई सभ्य र सुसंस्कृत बनाउने गर्छ । जस्तै, हिन्दु संस्कारमा रहेको उपनयन संस्कारको सिधा सम्बन्ध चरित्र निर्माणसँग हुन्छ । त्यस्तै, गृहस्थ आश्रम एक किसिमको संस्कार हो । यसले व्यक्तिलाई परिपक्व अवस्थामा प्रवेश गरेको आधारमा व्याख्या गर्ने गर्छ । शिक्षा ग्रहण गर्नको लागि ब्रह्मचर्यमा रहनुपर्ने संस्कार हो भने धोती लगाएर शिखा र जनैधारण गर्ने ब्राह्मण संस्कृति हो ।

हामी अरूको संस्कृतिलाई सामान्य रूपले हेरेर हल्का टिप्पणी गर्ने गर्छौं । तर आफ्नै संस्कृतिमाथि जब संकट आइलाग्छ, तब संस्कृतिप्रति प्रेम गर्ने जो कोहीको पनि रगत तातेर आउँछ । रौंरौं सिरिङ्ग भएर आउँछ । फेरि त्यही बेलामा संस्कृतिको रक्षाको लागि पनि कसरी प्रस्तुत हुन्छ भन्ने कुरा संस्कारले निर्देशित गर्छ । त्यसैले संस्कृति र संस्कारबीचको सम्बन्ध गहिरो छ । अब कुरा आउँछ रातो मत्स्येन्द्रनाथको रथ तान्ने परम्परा के हो रु यो एक किसिमको परम्परा हो । जुन एक हजार वर्षभन्दा पहिलेदेखि चल्दै आएको छ । समाजले यसलाई नै संस्कृतिको रूपमा मानेका छन् । त्यसैले यो हाम्रो रहनसहनको एउटा पाटोको रुपमा व्याख्या गरिएकोले यसलाई संस्कृतिको रूपमा समेत धेरैले व्याख्या गर्ने गर्छन् । त्यसैले संस्कृतिले त्यो समाजको संस्कारको समेत झल्को दिने गर्छ । संस्कारले नै संस्कृतिलाई निर्देशित गरेको हुन्छ ।

के छ संस्कृतिको महत्व ? संस्कृतिको मुख्य विशेषता भनेको नै यो सरोकारवाला सबैलाई विशेष हुने गर्छ । तराईको मान्छेलाई पहाडी संस्कृति जति महत्वपूर्ण लाग्छ त्योभन्दा धेरै पहाडका मान्छेलाई लाग्छ । हिमालको संस्कृति उनीहरूलाई जति महत्वपूर्ण लाग्छ त्योभन्दा धेरै महत्वपूर्ण पहाडका मान्छेलाई लाग्दैन ।संस्कृतिले मानव समाज र उसको स्थितिलाई बोध गराउने गर्छ । देशदेशको आचारविचार भिन्नभिन्न हुने भएकोले देश अनुसारको संस्कृति पनि फरक हुने गर्छौं । कतिपय रीतिरिवाजलाई नै हामीले संस्कृतिको रूपमा मान्छौं सबै रीतिरिवास संस्कृति नहुन सक्छ । यसलाई अझ गहन रूपमा व्याख्या गर्ने हो भने संस्कृति भनेकै एकताको प्रतीक हो । शारीरिक, मानसिक र आत्मिक शक्तिको विकास नै संस्कृतिको मुख्य उद्देश्य हो । जुन संस्कृतिमा यस्तो विकासको आधिक्य छ । त्यो संस्कृति त्यति नै उच्च मान्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया