अभिभावक भन्छन -शिक्षकले कुटे, प्रत्यक्ष दर्शि भन्छन्- कुटेको होइन, चिप्लीनु भएको हो ।

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


 

प्रकाश न्यौपाने
भदौ २३ गते
नवलपरासी । घटाना हो पुर्वी नवलपरासीमा रहेको विद्यालयको शुल्क नतिरेको भन्दै विद्यालय संचालकले अभिभावकको खुट्टा भाँचिदिएको खबरले निकै चर्चा पाईरहेको छ । विनयि त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा रहेको उज्ज्वल शिशु ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपक कुँवरले शुल्क नतिरेको भन्दै अभिभावकलाई कुटपिट गरेको समाचार संचार माध्यममा आए संगै यस घटना सवैलाई चासोको विषय बनेको छ ।

वास्तविक घटना के भएको हो ?
साउन महिनाको २८ गते बुधबार बजारमा किनमेल गर्नका लागि रानीनगर गएका थिए । पत्थरकल्ला देखि रानीगर पुगेर बजारमा किनमेलका लागि जाँदै गर्दा उज्ज्वल शिशुका संचालक दिपक कुँवरले देखेपछि छोराहरुको फिस तिर्नु पर्दैन भन्दै जबरजस्ती विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा लगेको आचार्यले बताउँछन् । “म संग अहिले पैसा छैन पछि कुरा गरौंला भन्दा पनि सरले मलाई जवरजस्ती सवैको अगाडि होच्याउँदै लिएर जानुभयो” आचार्यको भनाई छ । आचार्य नाताले विद्यालयका लेखापाल सुवेदीका जेठान पर्छन् । “सुवेदीकै घर भित्र बसेर केहिबेर छलफल भयो अनी बाहिर निस्किएर दिपक सरले कति तिर्न बाँकी छ लेखापाल संगै स्कुलमा हिँड भनेर जबरजस्ती गर्नुभयो महिले अहिले जान्न भने अनि सरले मलाई गर्धनमा हान्नुभएको हो त्यसपछि म लडे ” आचार्यले भने ।

यता आफ्नै घरमा घटना भएको र घटनाका प्रत्यक्ष दर्शी बनेका लेखापाल सुवेदी भने संचालक कुँवरले हातपात नगरेको बताउँछन् । उहा भन्नुहुन्छ —“बर्षौ देखिको शुल्क बुझाउन बाँकी भएकोले हामीले पटक पटक शुल्क बुझाउनका लागि ताकेता गरेका थियौं । उहाँले कहिले के कहिले के भनेर टार्नुभयो २८ गते पनि उहाँले मैले बुझाउन छैन होला भन्ने जस्तो कुरा गरेपछि दिपक सरले स्कुलमा हिँड भनेर भनेपछि म बाईक स्टार्ट गरेर बसेको अवस्थामा बाईकमा चढ्नका लागि हात तानेर चढाउन प्रयास गरेको तर आचार्यले आफु विद्यालय नजाने भनेर हात झट्कारेर तान्ने क्रममा पानी परेर चिप्लो भएको घर अगाडिको सिंढिमा नराम्ररी पछारिनुभयो” सुवेदीले भने । सुवेदीका अनुसार सिँढिबाट चिप्लिएर लढेका आचार्यको खुट्टा नचलेपछि तत्तकाल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पठाइएको थियो । आचार्यले विद्यालय संचालक कुँवरले आफुलाई कुटपिट गरेको दावी गर्दे आईरहेका छन् भने प्रत्यक्षदर्शी र घटनाका साक्षी रहेका लेखापाल सुवेदीले भने कुटपिट गरेको नभई सिँढिमा चिप्लिएर लढ्दा ठोक्किए खुट्टामा चोट पुगेको दावी गरेका छन् । घाईते आचार्यले आफुलाई जवरजस्ती सुवेदीको घरमा लगेको र कुटपिट गरेको घर अगाडिकै पसलेहरु र किनमेल गर्न आउनेहरुले देखेको पनि जिकिर गरेका छन् ।

के भन्छन घटनाका प्रत्यक्षदशी ?
घटनाका प्रत्यक्षदर्शी भन्छन कुटपिट भएको होइन चिप्लीनु भएको हो । प्रत्यक्षदर्शी हुन् भक्त बहादुर कार्की घटना घटिरहेकै समयमा उनी घटना भएको घर भन्दा बाटो पारी रहेको पसलमा किनेलका लागि आएका थिए । उनले पसलमा बसेर घटना हेरिरहेको बताउनु भयो ।

उनले भने कुटपिट भएको आफुले नदेखेको तर एक आपसमा भनाभन भएको सुनेका हो । पानी परिरहेको थियो चिप्लो थियो लेउ लागेको थियो सायद दिपक सरले हिसाव हेर्न जाउँ अथवा केहि भन्दै हुनुहुन्थ्यो उहाँले जाउँ भन्दा जान्न भन्दै पछाडि सर्नुभएको थियो चिप्लेर लड्नुभयो । हामी चिप्लेर लेडेको भनेर उठाउन पनि गएनम, सरहरुले नै उठाउनु भयो ।” त्यसै गरी घटनामा अर्का प्रत्यक्षदर्शी हुन गंगा क्षेत्री । घटना विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा भएकोले घटना हुने समयमा सुवेदीकै घर अगाडि घर भएकी गंगा क्षेत्रीले बसेर मोबाईल चलाईरहेकी थिईन् । घर भित्र केके भयो थाहा भएन पछि चर्काचर्की भएपछि घर नजिकै जाँदा लेखापाल बाबुराम सुवेदीले बाईक स्टार्ट गरिरहनुभएको र दिपक सरले कृष्णप्रसाद आचार्यको हात समातेर हिसाव हेर्न जाउँ भन्दै गर्दा आचार्यले नमानेको गंगाको भनाई छ ।


“अंकलले मानिराख्नु भएको थिएन दिपक सरले हाज हिसाव गर्न भनेर हात तान्नुभयो अगाडि हिलो हिलो लेउ लेउ पनि थियो दिपकसरले हात तान्दा एकापट्टिको खुट्टा लर्केर लोट्नु्भयो । सवैजनाले उठाएर खाटमा राख्नुभयो जुन पोजिसनमा लोट्नुभएको थियो त्यहि पोजिसनमा चल्न नमिलेपछि दिपक सरले टुक टुक वोलाउनुभयो त्यसमा जान नमिलेपछि एम्बुलेन्स बोलाउनुभएको हो ।” गंगाले भन्नु भयो ।

हामीले उनलाई कुटपिट भएको हो ? भनेर प्रश्न गर्दाउनको जवाफ थियो “हैन हैन कुटपिट पनि भाको होईन केहि पनि भाको होईन त्यहाँ फि को कुरा भएको थियो दिपकसरले हिसाव नहेरी हुँदैन भनेर बाईकमा बसालेर लान लग्दा उहाँको खुट्टा चिप्लेर लड्नुभाहो । ”पिडितले आफुमाथी कुटपिट भएको बताउदै आएका छन् भने प्रत्यक्षदर्शी भनिएका र घटना हुँदा संगै भएकाहरुले भने कुटपिट नभएको बताउदै आएका छन् । कुटपिटबाट घाईते भएका भनिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका वडा नम्बर ३ पत्थर कल्लाका ५२ बर्षिया कृष्ण प्रसाद आचार्य (शर्मा) बुटवल स्थित लुम्विनी सिटी अस्पतालमा उपचार गराईरहेका छन् । गत साउन २८ गते घटना भए पनि झण्डै २४ दिन पछि मात्र घटना बाहिर सार्वजनिक भएको हो । घाईते भएका आचार्यको दाँया खुट्टा भाँचिएपछि उनको खुट्टाको अपरेसन समेत भैसकेको छ । अपरेसनको घाउ निको भैनसकेको र टाँका खोल्न बाँकी रहेका कारण उनी लुम्विनी सिटी अस्पतालको सर्जिकल वार्ड वेड नम्बर २०८ मा उपचारकै क्रममा रहेका छन् ।

आचार्यको उपचारमा संलग्न डाक्टर अन्जनी वर्णवालले के भन्नु हुन्छ त ?
घाईते अवस्थामा अस्पतालमा आएका कृष्ण प्रसाद आचार्य साउन २८ गते नै अस्पताल भर्ना भएपछि नै उनको उपचार प्रकृया सुरु भएको उपचारमा संलग्न डाक्टर अन्जनी वर्नवालले बताउनु भयो । चेकजाँच गर्ने क्रममा विरामीमा सुगर बढेर ३ सय भन्दा बढि भएका कारण सुगर डाउन गरेर ३० गते मात्र अपरेसन गरेको बर्णबाल जानकारी दिनु भयो । आचार्यले पहिले नै आफुलाई सुगर देखिएको तर कुनै औषधी सेवन नगरेको बताएको बर्णबालको भनाई रहेछ । उपचारमा संहभागि डाक्टरका अनुसार साउन ३० गते अपरेसन भएपछि अपरेसन गरेको ८ दिन पछि अस्पतालबाट घर जान सक्ने बताए पनि विरामीले टाँका खोलेर मात्र घर जाने बताएको डाक्टरकाको भनाई छ । अपरेसन गरेको घाउबाट पछि पानी बग्ने समस्या भएपछि सुरुमा औषधीबाट सुकाउने प्रयास गरिए पनि औषधीले राम्रो संग काम नगरेपछि पुन अपरेसन कोठामा लगेर पुन अपरेसन गरेर सफा गरेपछि घाउ सुक्दै गएको डाक्टरको भनाई छ । पहिलोपटक अपरेसन गर्दा लगाएको टाँका खोलीसकिएको र पछिल्लोपटक लगाएका केहि टाँका खोल्न बाँकी रहेकोले अवको ७ देखि ८ दिनमा टाँका खोलीने उनको भनाई छ ।

विरामीको केस कत्तिको जटिल हो ? भन्ने प्रश्नको उत्तरमा बर्णवालले विरामी आफैले सानोमा लोटेर ढाडमा चोट लागेको र दाईने खुट्टा पहिले देखिनै घरी घरी दुख्ने र टन्किने समस्या भएको बताएको डाक्टरले बताउनु भयो । बाल्यकाल देखिनै आफुमा समस्या भए पनि यसपटकको चोटबाट टन्किने समस्या बढेको बताएको पनि उहाले बताउनु भयो । दाईने खुट्टा कम्मरको जोर्नी देखि तल र घुँडा भन्दा माथिल्लो भागमा हड्डी चर्किएकोले स्टिल पाता राखेर स्क्रु लगाएर जोडिएको डाक्टर बर्णवालले बताउनु भयो । अहिलेको अवस्था हेर्दा ३ महिनामा विरामी हिँड्न सक्ने अवस्थामा पुग्ने बर्णवालको भनाई छ । डाक्टरका अनुसार थप समस्या नदेखिए अवको ७ देखि ८ दिनमा आचार्य डिस्चार्ज हुनेछन् ।

उपचारका लागि उपलब्ध गराएको रकम किन फिर्ता भयो ?

शुल्क विबादका कारण सिर्जित घटनामा घाईते भएका कृष्ण प्रसाद आचार्यलाई पिडक भनिएका विद्यालय संचालक दिपक कुँवरका भाई प्रकाश कुँवरले आचार्यका आफन्त पर्ने पत्रकार आर पि उपाद्यायलाई संगै लगेर उपचारका लागि सहज होस भनेर ५० हजार रुपैँया दिएको बताए । कुँवरले आफुले ल्याएको रकम अस्पताल प्रशासनमा बुझाउने बताउँदा आचार्यले आफ्नो ब्यक्तिगत रुपमा अन्य खर्च भएकोले आफैलाई दिन आग्रह गरेपछि आर पि उपाध्यायकै रोहवरमा रकम बुझाएको उनले बताएका छन् ।

रकम बुझाएर १५ देखि २० मिनेट पछि अस्पतालबाट घर फर्किनका लागि गाडिमा बसेको समयमा आचार्यले उपाद्यायलाई फोन गरेर माथी बोलाएर आचार्यले पैसा अहिले लिन नसक्ने र एकमुष्ठ हिसाव गर्ने भन्दै रकम फिर्ता दिएको कुँरव र उपाध्यय दुवैले बताउनु भयो । रकम फिर्ता गरेको सन्दर्भमा विरामीका माईला छोरा लक्ष्मणले आफैले लिनुपर्ने ठाउँमा उल्टै दिनुपर्ने अवस्था आयो भनेर भनेकोले रकम फिर्ता दिएको बताउनु भयो ।

आचार्यले ०६७ सालमा जेठो छोरा रामप्रसाद आचार्य र ०७० सालमा माइलो छोरा लक्ष्मण प्रसाद आचार्यलाई विद्यालयमा भर्ना गराएका थिए । कक्षा ८ देखी १० सम्म गरी विद्यालयबाट दुवै छोराहरुले ३÷३ बर्ष अध्ययन गरी माद्यामिक शिक्षा उत्तिण गरेका थिए । दुबै छोराहरुलाई पढाउँदा विद्यालयमा तिर्न बाँकी शुल्कका लागि विद्यालयको तर्फबाट पटक पटक ताकेता भैरहेपनि शुल्क नबुझाएको विद्यालयका लेखापाल बाबुराम सुवेदीले बताउनु भयो । आचार्यले दुवै छोराहरुको गरेर ५१ हजार ७५ रुपैयाँ हाल भुक्तानी गर्न बाँकी रहेको बताउँछन् लेखापाल सुवेदीले बताउनु भयो । घाईते आचार्यले भने समय समयमा केहि रकम भुक्तानी गरेकोले ३० देखि ३५ हजारको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको हुनसक्ने बताउनु भएको छ ।

आचार्यका अनुसार शुल्क तिर्न बाँकी रहेको विषयलाई लिएर विद्यालयका प्रिन्सिपल दिपक कुँवरले आफुमाथी हातपात गरेको बताउनु भएको छ । उहा भन्नु हुन्छ —“एक्कासी कुटपिट गर्दा म बेहोस भए छु र कुटपिटबाट मेरो खुट्टा भाँचिएको छ ।” कुटपिटबाट घाईते भएपछि विद्यालय पक्षले नै एम्बुलेन्सको ब्यबस्था गरी बर्दघाट नगरपालिका १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा पठाएकोमा त्यहाँ एक्सरे गर्ने क्रममा खुट्टा भाँचिएको र अस्पतालमा उपचार गर्न नसक्ने भनी रिफर गरेपछि बुटवल पुगेको आचार्यले बताउनु भयो । उहाले पिडक पक्ष एक दुईपटक अस्पताल आएर भेटेको र त्यसपछि कुनै सोधपुछ नगरेको भन्दै गुनासो पोख्नु भयो । तर पनि विद्यालय परीवार स्रोत भने अस्पताल पटक पटक गएको र स्वास्थ्य स्थिति बुझेकोले बताउनु भयो ।

हाल सम्म उपचारका क्रममा झण्डै ३ लाख हाराहारीमा खर्च भएको र अझै पनि खर्च हुने भएकोले पनि उपचारका लागि रकम अभाव भएको आचार्यका छोरा लक्ष्मणले बताउनु भयो । उपचार खर्च बेहोर्नुपर्ने, सार्वजनिक रुपमा माफि माग्नुपर्ने र बुवाले तत्काल केहि गर्न नसक्ने र आफुहरुको पनि आम्दानीको श्रोत केहि नभएकोले पनि कम्तीमा दुई बर्षका लागि पिडक पक्षले सहयोग गर्नुपर्ने बताउनु भयो । उनले आर्थिक रुपमा नै सहयोग गर्नुपर्ने वा अन्य कुनै सहयोग भन्ने विषयमा भने खुलाउन चाहेनन् ।

विद्यालय संचालक कुँवर विरुद्ध अंङ्ग भंङ्ग सम्बन्धी मुद्धा दायर
घटना पछि पिडित पक्षले विनयी त्रिवेणी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय दुम्कीबासमा जाहेरी दर्ता गराएका थिए । पिडित पक्ष र पिडक पक्ष विच प्रहरी कार्यालयमा छलफल हुँदा पिडित पक्षले उपचार खर्च बेहोर्नुपर्ने संगै केहि माग राखेपछि सहमती हुन नसकेको संचालक दिपक कुँवरका भाई प्रकाश कुँवरको भनाई छ । पिडक पक्षले पहुँचका आधारमा प्रहरीमा उजुरी दिन समेत रोक लगाएको र यता उपचारको क्रममा ठुलो रकम खर्च हुँदै गएपछि भदौ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा निकै दुखले अङ्ग भङ्ग सम्बन्धी मुद्धा दर्ता गराएको बताउनु भयो ।
विद्यालयका संचालक कुँवर विरुद्ध मुद्धा दायर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले पुष्टि गर्नु भयो । अहिले पिडकको खोजी कार्य संगै थप अनुसन्धान अगाडि बढाईएको खाँडको भनाई छ । घटनाकै विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भैसकेकोले अनुसन्धान प्रकृया चलिरहेकोले यसको बास्तविकता केहो भन्ने पछि मात्र खुल्ने प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया