शेरवहादुर देउवा विधानविपरीत हीडेको कांग्रेस नेता सिंहको आरोप

प्रकाशित मिति:

काठमाडौ ।  जनआन्दोलन २०४६ का कमान्डर गणेशमान सिंहको १०४ औं जन्मजयन्तीका अवसरमा शनिबार शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा सिंहले सभापति देउवाकै कारण पार्टीभित्र लोकतन्त्र कमजोर बनेको बताए । लोकतन्त्रका लागि लडेको कांग्रेसमा लोकतान्त्रिक अभ्यास कति कमजोर छ भन्ने कुरा पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयले प्रमाणित गरेको दाबी उनको थियो ।विधानको बाधा–अडकाउ फुकाउको व्यवस्था बेवास्ता गर्दै देउवाले केन्द्रीय कार्यसमितिबाट बहुमतको आडमा विजयकुमार गच्छदारलाई उपसभापति मनोनयन गरेका थिए । कांग्रेस विधानमा एक जना मात्र उपसभापति हुने व्यवस्था छ । गच्छदारको मनोनयनसँगै कांग्रेसमा दुई उपसभापति भएका छन् ।पार्टीको विधान केही होइन, सभापति सबैथोक हो भनेजसरी देउवाले जे मन लाग्यो त्यही गर्दै हिँड्नु दुस्खद भएको उनले बताए । ‘सभापति विधानअनुसार चल्नुपर्छ । नगरी नहुने कुनै काम भए आवश्यकताअनुसार विधान संशोधन गरौंं भन्दा पनि मै विधान हुँ भनेजसरी सभापतिज्यू प्रस्तुत हुनु चिन्ताजनक हो, त्यसले पार्टीको हित गर्दैन,’ उनले भने । सिंहले पद, प्रतिष्ठा र कुर्सीका लागि जेसुकै गर्न तयार हुने अवस्थामा प्रधानमन्त्रीको पदसमेत त्याग गर्ने गणेशमानको जीवन मनन गर्न लायक रहेको बताए ।