अब गाई–भैंसीलाई पनि सुत्केरी भत्ता

प्रकाशित मिति:

२३ भदौ, बुटवल । सरकारी अस्पतालमा सुत्केरी हुने महिलाले एक हजार रुपैयां सुत्केरी भत्ता पाउने गरेको नौलो विषय होइन । तर अर्घाखांचीको सन्धिखर्क नगरपालिकाले गाई–भैँसी सुत्केरी हुंदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दुध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयांका दरले नगरपालिकाले भत्ता दिने भएको हो ।

भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको २ महिनाभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा बुझाउनु पर्ने नियम छ । वडाबाट सिफारिस आएपछि नगरपालिकाको पशु सेवा शाखाका कर्मचारीहरु गोठमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई नगदै भत्ता दिइने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक सहायक विजय खनालले बताए । पशु सुत्केरी भत्ताका लागि नगरपालिकाले यो वर्ष २० लाख रुपैयां वजेट छुट्टाएको खनालले जानकारी दिए । एउटै मात्र गाई वा भैंसी सुत्केरी हुने देखि व्यवसायिक किसान सबैले सुतकेरी भत्ता पाउने कार्यविधि बनेको छ । नगरपालिकाका १० हजार घरधुरी मध्ये ६० प्रतिशत भन्दा बढी परिवारले पशुपालन गरेका नगरपालिकाको आंकलन छ ।

‘सुत्केरी भएको पहिलो दुई महिनाको अवधि पशुको स्वास्थ्य र दुध उत्पादनका दृष्टिले पनि संवेदनशील अवधि हो, यो अवधिमा पशुलाई स्वस्थ पौष्टिक आहार र दाना खुवाउनुपर्छ जसले वर्षभरि राम्रो गर्छ भन्ने सचेतना फैलाई किसानलाई पशुपालनमा प्रोत्साहन गर्न यो कार्यक्रम शुरुवात गरिएको हो’–प्राविधिक सहायक खनालले भने–‘किसानलाई प्रशासनिक झन्झट नहोस् भनेर गोठको स्थलगत निरीक्षणमा गएकै बेला भत्ताको रकम नगदै दिने व्यवस्था मिलाइएको छ ।’ भत्ता रकम पशुलाई दाना,आहार र कुनै स्वास्थ्य समस्या भए उपचारमा खर्च गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको उनले बताए । अर्घाखांचीमा दुध उत्पादनको प्रचूर संभावना भएकाले सदरमुकामको नगरपाकिलाबाट शुरु भएको कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गरेर जिल्लाव्यापी बन्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा बताउंछन् ।

‘गाई भैंसी सुत्केरी हुंदा भत्ता दिने कार्यक्रम प्रदेशकै पहिलो हो’–उनले भने–‘दुधको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन यस्ता प्रोत्साहनमुखी कार्यक्रम सबै स्थानीय तहले ल्याउनु राम्रो हो ।’
नगरपालिकाले पशु बिमा गर्ने किसानलाई किसानले बेहोर्नुपर्ने रकमको ५० प्रतिशत लगानी अनुदान दिने नीति पनि लिएको छ । पशु वीमाका लागि यो वर्ष ६ लाख वजेट छुट्टाइएको छ ।