तिलोत्तमा औद्योगिक ग्राम शिलन्यास

प्रकाशित मिति:

तिलोत्तमा, भदौ २५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको बिहीबार शिलन्यास गरिएको छ । वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको हो । औद्योगिक ग्रामको डिपिआर तयार भैसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्माण कार्यको लागि २ करोड ५२ लाख बजेट रहेकोमा १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डिपिआर अनुसार रोहिणी नदी ड्राइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताउनुभयो । औद्योगिक ग्राममा अत्यन्त कम प्रदुषण गर्ने कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योगहरु स्थापना हुनेछन् ।

शिलन्यास कार्यक्रममा उप–प्रमुख जगेश्वरदेवी चौधरीले औद्योगिक ग्रामले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो । वडाध्यक्ष व्यासमुन थारुले सार्वजनिक जमिन संरक्षणमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गराउन स्थानीयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।संघीय सरकारले ल्याएको एक पालिका ः एक औद्योगिक ग्रामको नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको हो । रुपन्देहीको सन्दर्भमा जग्गाको मूल्य अध्याधिक हुँदा उद्योग गर्न चाहनेहरुलाई जग्गा खरिद गरेर उद्योग स्थापना गर्न कठिन छ । बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ छैन । प्रादेशिक स्तरको मोतिपुर औद्योगिक क्षेत्र स्थापना बनाउने भनिए पनि त्यसले गति लिन सकेको छैन ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ), विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनु पर्छ । तिलोत्तमामा निर्माण हुन थालेको औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशाय निर्माणको काम भैरहेको छ । यो स्थान मङ्गलापुरबाट झण्डै सात किलोमिटरमा छ ।