गल्याङबजारको मुडकिल्लामा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु

२५ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


गल्याङ । स्याङ्जाको गल्याङबजारमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ११ मुडकिल्लामा बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो ।
सार्वजनिक जग्गा र केही स्थानीयको जग्गामा सहमति भएपछि बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो ।

विहीबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको उपस्थितिमा बसपार्क निर्माणका तत्कालका प्रक्रिया सुरु गर्न समिति गठन गरिएको छ । स्थानीय प्रकाश भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिले बसपार्क निर्माण गर्ने तय भएको उक्त ठाउँमा रुख तथा झाडीको व्यवस्थापन गरी डिपिआर निर्माण गर्न सघाउनेछ । यस्तै, सहमति हुन बाँकी रहेको जग्गाका लागि पनि उक्त समितिले कार्य गर्नेछ । कामको सहजिकरणका लागि स्थानीय टेकनाथ न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख भुपराज अधिकारीले आफ्नो क्षेत्रको विकासमा आफै सक्रिय हुनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय क्षेत्रको विकासका लागि स्थानीयबासीको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिदै जागरुक भई एकताबद्व भएर लाग्न आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले गल्याङमा बसपार्क निर्माण नहुँदा धेरै सास्ती व्यहोर्नुपरेको भन्दै छिट्टै बसपार्क निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले नगरपालिकाको समग्र विकासमा आफुले विभिन्न योजनाहरु ल्याएको भएपनि कोरोना भाइरसको कारण यस वर्ष समस्या परेको बताउनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे सहित इन्जिनियरहरुको पनि सहभागिता रहेको थियो । समितिको बैठक बसी डिपिआर लगायतका सबै विषयमा छलफल हुने समितिका अध्यक्ष प्रकाश भट्टराईले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया