निको भएका संक्रमितहरु भन्छन् : रुघाखोकी लागे हेलचेक्राई नगरौँ

प्रकाशित मिति:

सैनामैना – प्रभात आवसीय माध्यमिक विद्यालयका प्राचार्य अन्नतराम शर्माले सैनामैना –१ बनकट्टा प्राकृतिक चिकित्सालयमा रहेको कोरोना अस्पतालबाट शनिबार कोरोना जित्नुभएको छ ।कोरोना जितेर घर फर्किने क्रममा शर्माले भन्नुभयो – कोरोना भाइरस पोजेटिभ देखिएर डराइ हाल्नुपर्ने अवस्था छैन् । तर, रुघाखोकी लागेर घुमफिर गर्ने क्रममा ज्वरो आएमा भाइरसले संक्रमण गर्न सक्छ । त्यसैले सबैले हेलचेक्राइ नगरौँ । आफ्नो स्वास्थ्यको सुरक्षा आफै गरौँ ।

उहाँले भिडभाँडमा नजाने, सार्वजनिक बसमा यात्रा गर्दा मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रयोग गरयो भने कोभिडबाट बच्न सकिने बताउनुभयो । करिब १४ दिन अस्पतालमा बसेर फर्किएका शर्माले आयुर्वेदिक औषधी सधै प्रयोग गर्न सकेमा स्वास्थ्यका हिसाबले राम्रो हुने धारण राख्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शुभचिन्तक नगरपालिका सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।निको भएर फर्किएका अर्का संक्रमित सैनामैना व्यापार संघका महासचिव देवराज पौडेलले पनि १४ दिन नै अस्पतालमा बसेर आफ्नो मनोबल बढाएर नै आफुले कोरोना जितेको बताउनुभयो । उहाँले भन्नुभयो – बिहानको समयमा योग गर्ने । खाना खाने, तातो पानी पिउने ,आराम गर्ने र भजन कृतन गर्ने गर्यो । जसले गर्दा कोरोना जित्न सफल भयौँ । महासचिव पौडेलले अस्पतालमा रहुन्जेल व्यवस्थापन पक्षबाट राम्रो सहयोग मिलेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

संक्रमितहरुको विदाइ कार्यक्रममा समाजसेवी फणिन्द्र प्रसाद शर्माले रुपन्देही सैनामैनामा रहेको कोरोना अस्पतालमा भौतिक पुर्वाधार, व्यवस्थापन पक्ष राम्रो भएको प्रतिक्रिया आएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरमा आउने समस्याहरुमा सबैको सहकार्य र सहयोगबाट नै कोरोनालाई जित्न सकिने धारण राख्नुभयो ।निको भएर घर फर्किन लागेका ७ संक्रमितलाई पुष्पगुच्छा सहित सम्मान गर्दै नगरवासीको सहयोगबाट नै संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सकिने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।उहाँले हाल सम्म नगरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजी संघ संस्था, राजनितिक दल लगायत, नगरवासी सबैको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । कार्कीले कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैमा अनुरोध गर्नुभयो ।

प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराइले सबैको सुझाव सल्लाहरुलाई मनन गरेर अस्पताललाई आगामी दिनमा अझ राम्रो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अस्पतालबाट शनिबार एकै दिन ७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५४ पुगेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार वडा नं।२,३,४,९ संक्रमितहरु शनिबार डिस्चार्ज भएर घर फर्किएका हुन् । जसमा ६ पुरुष र १ महिला छन् । नगरमा हालसम्म संक्रमितको संख्या ८६ पुगेको छ, भने एक जनाको मृत्यु भएको छ ।