नवलपरासीमा बदेल मार्न थापिएको पासोमा परि एकको मृत्यु 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
नवलपरासी, २८ भदौ । पश्चिम नवलपरासीको प्रसावलमा बदेल मार्न थापिएको पासोमा परि एक जनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड नम्बर १४ स्थित प्रसावलमा सनिवार राती बंदेल मार्न राखीएको विद्युतीय पासोमा परी रामग्राम नगरपालिका वार्ड नम्बर १४ प्रसावलका ४५ वर्षीय ओमनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत राजु लामाले बताउनु भएको छ ।
पासेमा परी मृत्यु भएका यादवलाई उनकै शिकारी साथीहरुले रातीमा गाउँको अर्को छेउ खेतको किनारामा लाश गाडी छाडे पछि घटना अझै पेचिलो बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक अजय केसीले बताउनु भयो ।
मृतक यादवकी श्रीमाति सोना देखी यादवले सनिवार दिउसो आफना पति ओमनारायण यादव शुक्रवार राती १२ वजे देखी वेपत्ता रहेको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन थिए पछि प्रहरीले मृतक यादवको खोजी कार्य शुरु गरेको थियो । खोजीको क्रममा शुक्रवार राती यादवसंगै रहेका अन्य चार जना गाउँ देखी भागेको थाहा भए पछि घटनाले नयाँ मोड लिएको भन्दै प्रहरीले सधनताका साथ खोजी कार्य गरिरहेको जिल्ला प्रहरी प्रमुख केसीले बताउनु भयो  ।
बदेल मार्न संगै विद्युतीय पासो थापेका र यादवको मृत्यु पछि गाउँबाट भागेको अन्य दुई बदेल शिकारी बाबुराम चौधरी र मोहन चौधरीलाई प्रहरीले गिरफतार गरे पछि ओम नारायण यादवको मृत्यु पछि खेतको छेउमा लाश गाडी  आफुहरु भागेको स्विकार गरेको बताईएको छ । बदेल मार्ने र मृतक ओमनारायणको लाश खेतको छेउमा गाडने योजना बनाउने आसंका गरिएका अन्य दुई जना अलगु चौधरी र केशव चौधरी अहिले सम्म भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यादवको मृत्यु विद्युतीय धरापमा परी आफै भएको हो वा अन्य कारणले हत्या गरिएको हो भन्ने विषय भने अहिले अनुसन्धानका क्रममा नै रहेको छ । आईतवार प्रहरीले मृत्यु पछि गाडिएको भनिएको ओमनारायण यादवको लाश गडिएको स्थानबाट खनी पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी पठाएको छ । घटनाको  थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।