गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

प्रकाशित मिति:

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नयाँ बन्न लागेको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो । गल्याङ नगरपालिका वडा नम्बर तीन साविकको विपिसी खेल मैदान र युवा क्लबको खेल मैदानमा बन्न लागेको भवनको शिलान्यास कार्यक्रममा नगरप्रमुख अधिकारीले विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा नगरपालिका क्रियाशिल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘झोलामा लेटेरप्याड र छाप लिएर मैले नगरपालिकाको काम सुरु गरेको थिएँ, लामो कसरत पछी भवन बनाउन सुरु भएको छ। यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछु । नगरप्रमुख अधिकारीले बाटो निर्माण तथा कृषिका क्षेत्रमा नगरपालिकाले विभिन्न कामहरु गरिरहेको स्पष्ट पार्नुभयो । केही व्यक्तिको सोचाईमा नकारात्मक मात्रै भएको टिप्पणी गर्दै नगरप्रमुख अधिकारीले विकास निर्माणका कामहरु गर्दा भ्रष्टाचारलाई सँगै जोडिने गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो –‘यही भवन निर्माणका लागि पनि टेण्डर प्रक्रियाबाट सबै भन्दा कम मुल्यलाई पर्ने हुन्छ, हाम्रो कुनै भूमिका हुँदैन । जनताले दिएको भोटलाई भ्रष्टाचार सित आफुले कहिल्यै साट्न नसक्ने भन्दै नगरप्रमुख अधिकारीले एक रुपैयाँ हिनाविना गरेको प्रमाण सहित कसैले देखाउन सकेमा आफुले राजनीति छोड्ने चुनौति दिनुभयो ।

विकास निर्माणमा जनसहभागिता र नगरपालिकाबाट भइरहेका योजनाबाट अत्तालिएर केही व्यक्ति तथा समूह निष्कृष्ट रुपमा प्रस्तुत भैरहेको भन्दै उहाँले सहकार्य गरेर विकास निर्माणमा सहभागी हुन आग्रह गर्नुभयो । गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले सबै सकारात्मक भएर अगाढि बढ्न सकेमा विकासका गतिविधिलाई अगाडी बढाउन सकिने बताउनुभयो । आफ्नै प्रशासनिक भवन नहुँदा जनप्रतिनिधि र कर्मचारीलाई मात्रै समस्या नभई सेवाग्राहीलाई पनि समस्या भैरहेको भन्दै उहाँले सबैको सहयोगमा निर्माण कार्य समयमा नै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले मुल्य अभिबृद्वि कर सहित आठ करोड ३७ लाख ९१ हजार छ सय ३३ रुपैयाँ छ पैसा लागतमा भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । नियम अनुसार संघीय सरकारबाट ५० प्रतिशत अनुदानको व्यवस्था रहेको र बाँकी नगरपालिकाको लगानीमा भवन बन्ने उहाँले स्पष्ट पार्नुभयो । विभिन्न व्यक्तिको सहयोगबाट जग्गा प्राप्त भएकाले भवन बनाउने अवस्थासम्म पुगेको भन्दै उहाँले निर्माण पुरा नभएसम्म सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधि गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष किसान श्रेष्ठले सबै क्षेत्रमा नगरपालिकाबाट भएको कामको प्रशंसा गर्दै भवन निर्माणको काम पनि छिट्टै पुरा हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठले नगरपालिकाले गर्ने
योजनाहरुको छलफलमा सहभागी गराउन आग्रह गर्नुभयो । निर्माण व्यवसायी लामा नवकान्तिपुर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि युरोज अर्यालले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्वता जनाउनुभयो।