डब्ल्यूटीओ प्रमुखको दौडमा तीन महिला

३ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


जेनेभा । विश्व व्यापार संगठनको नेतृत्व लिनका लागि भाग लिइरहेका पाँच उम्मेद्वारहरुमध्ये तीन महिला दुई अफ्रिकी र एक दक्षिण कोरियाली छनोट गरिएको कूटनीतिक स्रोतले एएफपीलाई बताएको छ । अन्तर्राष्ट्रिय व्यापार संगठनले अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन । यो संगठनमा अहिलेसम्म अफ्रिकी व्यक्तिले नेतृत्व पनि गरेको पाइदैंन । रोबेर्टो अजेवेदोको स्थानमा हुन लागेको निर्वाचनमा आकांक्षी देखिएका आठ उम्मेदवारमध्ये शुक्रबार पाँचको नाम आगामी प्रतिस्पर्धाका लागि छनोट गरिएको छ ।

अजेवेदोको कार्यकाल सन् २०२१ सम्म रहेको भए तापनि उनले गत महिना पदबाट राजिनामा दिएपछि नयाँ नेतृत्वका लागि छनोट प्रक्रिया अघि बढेको छ । केन्याकी महिला उम्मेदवार अमीना मोहम्मद, नाइजेरियाको नोगोजी ओकोन्जो–इवैला र दक्षिण कोरियाकी यू म्युङ–हीसहित बेलायतका लियम फक्स र साउदी अरबका मोहम्मद अल–तुवाइजरी प्रतिस्पर्धाका लागि छनोट भएका भएका उम्मेदवारहरू हुन् ।

पछिल्ला केही दिनमा डब्ल्यूटीओको भिडियो कन्फरेन्समार्फत् गरिएको परामर्शपछि उम्मेदवारहरूलाई सानो समूहमा संकुचित पारिएको हो । उम्मेदवारीबाट बाहिरिएका तीनमध्ये जेसस सैयद कुरी मेक्सिको, टुडोर युलियानोभस्की मोलदोभा, अब्देल हमिद माम्दो इजिप्ट रहेका छन् । डब्लुटीओको विधानले नेतृत्वको लागि क्षेत्रगतरूपमा जिम्मेवारीको चक्रीय स्वरूपलाई आवश्यक मानेको छैन ।
एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया