नेपालमै पहिलो पटक गुल्मीदरबार गाउँपालिकाले सुरु गर्यो ‘कस्तो छ आमा ?’कार्यक्रम

प्रकाशित मिति:

रमेश बिस्वकर्मा/गुल्मी – गुल्मी जिल्लाको एक स्थानीय तहद्वारा नेपाल मै पहिलो एक कार्यक्रमको शुभारम्भ गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाद्वारा “कस्तो छ आमा ?” कार्यक्रमको शुभारम्भ गरिएको हो । गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रमको शुभारम्भ गरेको हो । यो कार्यक्रम सम्भवत नेपाल मै पहिलो कार्यक्रम भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम अनुसार “कस्तो छ आमा ?” कार्यक्रमको औचारिक रुपमा शुभारम्भ गरिएको हो । स्वास्थ्य शाखा प्रमुख अर्यालले “कस्तो छ आमा ?” कार्यक्रमको बारेमा त्यहाँ उपस्थित भएका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरुलाई जानकारी गराएका थिए ।
गाउँपालिकाले गाउँवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य सेवाका सवै कार्यक्रम सुदृढिकरण गर्न लागेको बताईएको हो । त्यसकारण यो कार्यक्रम गाउँपालिकाले अगाडि सारेको अर्यालले भने,‘नेपाल सरकारले तोकेका शसर्त कार्यक्रमका साथै स्थानिय तहबाट समेत कार्यक्रमको गुणस्तरियतामा बढवा दिन समानीकरण अनुदानबाट यो कार्यक्रमको तय गरिएको हो । स्वस्थ आमा, स्वस्थ बच्चा, पोषण, संस्थागत प्रसुती लगायतका विभिन्न प्याकेज यो कार्यक्रममा रहेका छन् । बिशेषत यो कार्यक्रमले गर्भवति महिलाको चार पटक (चौथो महिना, छैठौ महिना, आठौ महिना र नवौ महिना) को गर्भजाँच र सुत्केरी तथा नवशिशुको ३ पटक (२४ घण्टाभित्र, ३ दिनमा र सातौ दिनमा) को जाँच गर्ने कार्यलाई पूर्णता दिदै पोषणको अवस्थाको विकास, प्रवद्र्धन, ब्यवस्थापन तथा नियमन गर्न आमा र बच्चालाई लक्षित गरिएको छ ।
यस कार्यक्रममा सुरक्षित मात्रृत्व सेवा, नवशिसु तथा बाल स्वास्थ्य सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा, स्वास्थ्य र सरसफाइ लगायतका क्षेत्रहरु समेटिएको छ । त्यस्तै सरोकारवाला र सेवाप्रदायकहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम संचालन, गर्भवति सासुआमाहरु र महिला स्वाथ्य स्वयमसेवीकाहरुको लागि प्रत्येक वडामा १÷१ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम संचालन गर्ने यस कार्यक्रमको विशेषता रहेको कार्यालयले जनाएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले समृद्ध र सुखी पालिका निर्माणको अभियानमा हामी सम्पूर्ण जनप्रतिनिधि लागेको हुँदा स्वस्थ नागरिक निर्माणको लागि “कस्तो छ आमा ?” कार्यक्रमले सहयोग पुग्ने बताए ।


गर्भ अवस्थामा हुन सक्ने जोखिम, प्रसुती पुर्व तयारी,नियमित गर्भपरिक्षण, नवजात शिशु स्याहार, पोषण, खोप, सरसफाई लगायतका बिषयमा आमा र परिवारलाई सचेत बनाई समयमै समस्या समाधान गर्दै मानसिक रुपमा आमा र परिवारको मनोबल उच्च बनाउदै सुरक्षित र संस्थागत प्रसुती मार्फत गर्भवती र सुत्केरी आमा र स्वस्थ बच्चा बनाउनको लागि यो कार्यक्रम प्रभावकारी हुने हुँदा सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुले वार्षिक कार्ययोजना बनाउनको लागि आग्रह गरिएको छ । महिला तथा बालबालिकाहरुको पोषण एवं स्वास्थ्य अवस्थालाई सुधार गर्न तथा राम्रो अवस्थामा रहेकाको पोषण बिग्रन बाट बचाउनको लागि यसले विशेष सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । उनले कार्यक्रमलाई प्रभावकारी तवरले संचालन गर्नको लागि सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।