गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी

४ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


गल्याङ । कृषि, बन र जडिबुटीको क्षेत्रमार्फत समग्र विकास गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ ।  गल्याङ नगरपालिकाको आयोजनामा कृषि ज्ञान केन्द्र स्याङ्जा, डिभिजन बन कार्यालय स्याङ्जा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जावीच कृषि र जडिबुटीमार्फत गल्याङ नगरपालिकाको आर्थिक विकासका लागि गर्न सकिने कार्यका लागि बनाइने गुरुयोजनाको तयारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रियाले विभिन्न पाँच बुँदे प्रस्ताव सर्बसम्मत पारित गरेको छ ।  कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले राख्नुभएको प्रस्ताव सर्बसम्मतले पारित गरिएको हो ।

प्रस्ताव अनुसार नगरपालिकामा जडिबुटीको पकेट क्षेत्र निर्माण गर्ने र सामुदायिक बनमा समेत जडिबुटी खेती विस्तार गर्ने निर्णय भएको छ । यस्तै सामुदायिक बनलाई समेत प्रयोग गरी कृषि बन विस्तार गर्ने निर्णय पनि सर्बसम्मत पारित भएको छ । यसैगरी, जडिबुटी, पशु, कृषिलाई जोडेर स्थानीय आर्थिक विकास (एलइडी) मार्फत बृहत पञ्चवर्षीय योजना बनाउने निर्णय पनि पारित गरिएको छ ।  यस्तै, एक घर, एक करेसाबारी बनाउने निर्णय पनि सर्बसम्मत पारित गरिएको छ ।  यसैगरी, प्रत्येक स्थानीय बासीको घरमा पाँच जडिबुटी, पाँच योग अभ्यास गर्ने र समूहगत रुपमा समेत जडिबुटी खेती विस्तार गर्ने निर्णय सर्बसम्मत पारित गरिएको छ ।  कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले यस अन्तरक्रियाले पारित गरेका विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले गल्याङ नगरपालिकामा आयुर्वेिदक अस्पताल स्थापना गर्ने प्रतिबद्वता पनि जनाउनुभयो ।

नगरप्रमुख अधिकारीले आफ्नै गाउँठाउँमा भएका जडिबुटीको पहिचान गरी सेवन गर्न नसक्दा समस्या आइरहेको भन्दै त्यसको पहिचानका लागि आयुर्वेदिक औषधालय अध्ययन केन्द्रमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले कोरोना भाइरसको संक्रमणका कारण नगरपालिकाले अगाडि सारेको विकास प्रक्रियामा बाधा आइरकेको भन्दै अब विकासको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा डाक्टर सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगहरु सँग जुधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्ने बताउनुभयो । उहाँले अव्यवस्थित जीवनशैलीका कारण विश्वमा ७५ प्रतिशत नसर्ने खालका रोगहरु भएको भन्दै त्यसबाट बच्न खानपिन सुधार्नुपर्नेमा जोड दिनुभयो ।

कतिपय धार्मिक र सांस्कृतिक परम्पराहरु बैज्ञानिक खालका भएकाले त्यसको अनुसरण गर्नुपर्ने डाक्टर कार्कीको भनाई छ ।
कार्यक्रममा डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले बनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताउनुभयो ।  उहाँले बनजंगल र हावापानीलाई स्वस्थ्य राख्नु मानिसको दायित्व भएकोमा जोड दिनुभयो । प्रमुख पौडेलले स्थानीय सरकारको रुपमा रहेको गल्याङ नगरपालिकाले बनाउने गुरुयोजनामा सहयोग र सहकार्य गर्न आफु सधैं तयार रहेको बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेट क्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँले उच्च भेगहरुमा आलु तथा प्याज खेतीको विस्तार गर्न सुझाब दिनुभयो ।

प्रमुख अधिकारीले अनुदानका लागि मात्रै देखावटी खेती नगरी वास्तविक किसान हुन पहल गर्नुपर्नेमा जोड दिनुभयो । गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले नगरपालिकाको विकासका लागि बृहत योजना बनाउन कार्यक्रम उपयोगी भएको बताउनुभयो ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रीका निजी सचिव चन्द्रमणी सापकोटाले समाज परिवर्तनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । वडा नम्बर दशका अध्यक्ष ध्रुब शर्मा पङ्गेनीले बनजंगलको उचित सदुपयोग गर्न सकिएमा नगरको विकास गर्नका लागि कुनै समस्या नहुने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया