शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षप बन्द गर्न नेबिसघको आग्रह

५ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)  ले सरकारसँग शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गरेको छ । नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर सरकारसँग शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गरेको हो । नेविसंघले त्रिभुवन विश्वविद्यालयमा सरकारले गराएको प्रहरी हस्तक्षेप बन्द नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । नेविसंघले वार्ता र संवादका माध्यमबाट त्रिविका सबै समस्याका समाधान खोज्न पनि माग गरेको छ ।

“विश्व विद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ,” अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरुन्त बन्द गरोस् । हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुन्डागर्दीविरुद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं ।” नेविसंघका महामन्त्री दीपक भट्टराईले विद्यार्थीका जायज माग राख्दा झुटा मुद्दा लगाएर विश्वविद्यालयले प्राज्ञिक थलोलाई ब्यारेक बनाउन खोजेको आरोप लगाए ।

“हामी संकटमा छौं । शिक्षा क्षेत्र नराम्रोसँग थलिएको छ । यसको सुधारका निम्ति त्रिवि नेतृत्वसँग न कुनै योजना छ, न हामीले भनेको सुन्छ, उल्टो विद्यार्थीले जायज माग राख्दा झुटा मुद्दा लगाई प्राज्ञिक थलोलाई ब्यारेक बनाउन खोज्दै छ,” उनले भने, “हिजोका निरंकुशले जस्तो पुलिस लगाएर विद्यार्थी  तर्साउने कोसिस गर्दै छ जुन हतियार हिजै असफल भइसक्यो ।” 

फेसबुकबाट तपाईको प्रतिक्रिया