रेल त्रिपाल ओढाएर पार्किङमा

प्रकाशित मिति:

५ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल सुनसरीको इनरुवामा पार्किङमा राखिएका छन् । नेपालले नै तलब सुविधा दिने गरी भारतले २६ जना दक्ष जनशक्ति पनि पठाउँदैछ । त्यसबाहेक रेल्वे कम्पनीले पनि गत हप्तामात्रै कम्पनीका लागि डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ ।

जनकपुर-जनयनगर रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनाएर नेपाल ल्याइएको थियो । यी रेल केही महिनादेखि लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

३५ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै रेल किन्न ढिलाइ भयो ।