शेयर बजारमा देखियो करेक्सन

प्रकाशित मिति:

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा सामान्य करेक्सन देखिएको छ भने कारोबार रकममा पनि संकुचन आएको छ। यस दिन कारोबारमा आएका १४३ वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ६।१२ अंकले घटेर १ हजार ५६९ विन्दुमा झरेको छ। सेन्सेटिभ सूचक १।३९ अंकले घटेर ३१२।२४ विन्दुमा झरेको छ। सोमबार १९५ वटा कम्पनीको ८५ लाख १३ हजार कित्ता शेयर २ अर्ब ६३ करोड रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लो दिन आइतबार २ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेको छ। यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने उत्पादनमूलक उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ।

यस दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। फाइनान्सको नविल बैंकसँग मर्जरमा जाने हल्ला चलेसँगै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै नेश्नल हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले बढेको छ, पञ्चकन्या हाइड्रोपावरको ४।८१ प्रतिशत, सिन्धु विकास बैंकको ३।७६ प्रतिशत, नाडेप लघुवित्तको ३।६१ प्रतिशत र मेरो माइक्रोफाइनान्सको ३।२९ प्रतिशतले बढेको छ।

त्यस्तै, लिवर्टी इनर्जिको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ९।८० प्रतिशत, घलेम्दी हाइड्रोको ९।५२ प्रतिशत, माउन्टेन हाइड्रोको ७।८९ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ६।६१ प्रतिशतले घटेको छ। यस दिन नेपाल बैंकको सबैभन्दा धेरै २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९० लाख रुपैयाँ, रिलायन्स लाइफको १२ करोड ९८ लाख रुपैयाँ छिमेक लघुवित्तको ७ करोड १९ लाख, शिखर इन्स्योरेन्सको ६ करोड ५३ लाख रुपैयाँ र बैंक अफ काठमाण्डौको ५ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।