सारथी नेपाल लघुवित्तले एफपीओ निश्कासन गर्ने

प्रकाशित मिति:

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच करिब ८ महिनाको अवधिमा मर्जर भएपश्चात आज सोमबारदेखि सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । नयाँ नेपाल र सारथी लघुवित्त १ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् भने अब नेप्सेमा सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजारमा एक हप्ताभित्रै कारोबार गर्ने गरी तयारी भइरहेको एक सञ्चालकले जानकारी दिए ।

सारथी नेपाल लघुवित्त अब राष्ट्रिय स्तरको लघुवित्त भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिई सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले आज एकीकृत कारोबार शुभारम्भ समारोहमा संस्थाका सीइओ रामबहादुर खड्काले ३ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने जानकारी दिए ।

संस्थामा हाल ७९ प्रतिशत संस्थापक र २१ प्रतिशत मात्र सर्वसाधारणसमूह तर्फको सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० को अनुपातमा मिलान गर्न समेत बाँकी ९ प्रतिशत चाहिँ एफपीओ निष्कासन गरी सेयर स्वामित्व मिलान गर्ने सारथी नेपाल लघुवित्तको योजना छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ । संस्थाको मर्जरपछि हाल २४ करोड ६३ लाख रुपैयाँ चुक्तापूँजी कायम भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र २६ जिल्लामा ६२ शाखा विस्तार गरेको जनाएको छ ।