उपेन्द्रको खुलासाः चिनियाँ रेल नेपाल आउन सजिलो छैन

प्रकाशित मिति:

काठमाडौं २५ कात्तिक – उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन् ।

भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन् । उनले भनेका छन्, ‘यो सजिलो छैन । र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ ।’

अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा प्रयोगबारे समेत बताएका छन् । चिनियाँ पोर्ट ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन् ।

नेपाल भूपरिवेष्ठित देश भएकोले चीन र भारत दुई विकल्प रहेको उनको भनाई छ । नेपाल र चीन जोड्ने एक मात्र सडक पनि भूकम्पले क्षति पुगेको बताउँदै यादवले कनेक्टिभिटी र पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेका छन् । उनले नेपाल र चीनबीच असल कूटनीतिक सम्वन्ध रहेको समेत उल्लेख गरेका छन् ।

भारतसँग के अपेक्षा छन् ? भन्ने प्रश्नको जवाफमा यादवले भारत विकास र समृद्धिको सहयात्री बन्नु पर्ने बताएका छन् । भारत नेपालको नजिकको छिकेकी भएको बताउँदै जीवन र भविष्य सँगसँगै भएको बताएका छन् । हाइड्रो, सिंचाइ जस्ता विषयमा सहकार्यको गति बढाउनु पर्ने उनले औंल्याएका छन् ।

नेपालले विमिस्टेक संयुक्त सैन्य अभ्यासमा अव्जर्भर पठाएको अवस्थामा यसलाई ठूलो विषय बनाउन नहुने उनको धारणा छ । आफुहरु अभ्यासको विपक्षमा नभएको र केही तयारी नपुगेको उनले बताएका छन् ।