कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसले गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठमाथि प्रहरीले दूर्व्यवहार गरेको जनाएको छ। स्थानीय प्रशासनको दूर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीबाट तत्काल सार्वजनिक स्पष्टीकरण माग गरेको छ।

‘आज गुल्मी जिल्लाको स्थानीय एक मुद्दामा केन्द्रित रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो।’काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्‍याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकियो। रोकिएपश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो।’

शर्माले पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति श्रेष्ठमाथि प्रहरीले धक्कामुक्का गर्दै दूर्व्यवहार गरिएको जनाएका छन्। घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायतका व्यक्ति घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको शर्माले बताए। गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गरेको छ। यस्ता प्रकारका घटना दोहोर्‍याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिएको छ।