गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते

५ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


सुमन महतरा, गुल्मी-गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरिरहेका कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जना घाइते भएका हुन् ।

प्रदर्शनकै क्रममा प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरी र उनीहरुबीच झडप भएको थियो ।झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी र प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको र त्यो विषयमा नेकपासँग विवाद बढ्दै गएपछि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया