अशक्तले घरमै पाए परिचयपत्र

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल,स्याङ्जा—६ असोज। अर्काको सहारामा ३५ बर्ष देखि जिवन विताउदै आएकी वालिङ नगरपालिका वाड नं ४ की हाईमाया गुरुङलाई अपाङ्गता परिचयपत्र पाएकी छन् । वालिङ नगरपालिकाले हाईमायालाई घरमै पुगेर अपाङ्गता परिचयपत्र उपलव्ध गराएको हो । गुरुङ भिन्न क्षमता भएकी बाल्न र हिँडडुल गर्न नसक्ने महिला हुन् । खाना खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको भर पर्नुपर्ने अवस्था छ । आफ्नी आमाको साहारामा माझकोटमा रहेकी उनी आमाको मृत्यू पछि दाजुको साहारमा वालिङ नगरपालिका वाड नं १ रामवाच्छामा बस्दै आएकी छन् । ५१ वर्षको हुँदासम्म पनि नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवाबाट बञ्चित भइरहेकी थिइन् ।

गत वर्ष उनकी दिदी टकमाया गुरुङले इलाका प्रशासन वालिङमा
नागरिकताको लागि निवेदन दिएपछि प्रशासन र जनप्रतिनिधिको टोली घरमै
पुगेर नागरिकता दिएपछि अहिले उनको अपाङ्गता परिचयपत्र पाउने बाटो
खुलेको हो । नागरिकता बोकेर प्रशासन र जनप्रतिनिधि हाईमायाको घरमै
पुगेको थियो भने अपाङ्गता परिचयपत्र बोकेर वालिङ नगरपालिका पनि घरमै
पुगेको छ । वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारीले उनको घरमा पुगेर उनलाई पूर्ण अशक्त रातो परिचय पत्र प्रदान गरेकी थिइन् । घरमै आफ्नो
परिचय पत्र पाउँदा उनी निक्कै खुशी देखिए पनि उनी सबै कुरा बुझ्न
सक्दिनन । रातो कार्ड थमाउदा उनीको अनुहारमा एक प्रकारको खुसी महशुस
भएको उपप्रमुख तिवारीको भनाई छ । अशक्तले आफूले पाउने सुविधावाट
बञ्चित नहोस भन्दै उपप्रमुख तिवारीले सम्वन्धित वडा अध्यक्ष सुकवहादुर
गुरुङ, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, कार्यपालिका सदस्य जमुना के.सी, नगरपालिका महिला विकास शाखाकी कर्मचारी अनुस्का काफ्ले, स्थानीय समाजसेवी पदम गुरुङ र पत्रकार सहितको टोली सहित घरमै उनको परिचय पत्र प्रदान गरिएको थियो ।

हाईमाया मात्र होइन् वालिङ नगरपालिका वाड नं ६ का ३८ वर्षका निल
बहादुर रानाको पनि गत चैत्रमा रुखवाट लडेर पूर्ण अशक्त भएपछि उनलाई
पनि घरमै पुगेर पूर्ण अशक्त परिचयपत्र प्रदान गरिएको छ । उनको शरिरको
आधा भाग चल्नै नसक्ने र दिशा पिसावका लागि रानाले पनि अर्कैको साहारा
लिने अवस्थामा छन् । श्रीमतिले परिचय पत्रका लागि नगरपालिकामा निवेदन
दिएपछि उनको परिचय पत्र सोही टोलीले हाल बसोवास रहेको वालिङ ६ मिर्दी
स्थित घरमै पुगेर पूर्ण अशक्त रातो परिचय पत्र प्रदान गरिएको छ । कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ । परिचय पत्र हस्तान्तरण गर्दै उपप्रमुख तिवारीले भनिन्, ‘सोही नीति अनुसार घरमै पुगेर अशक्त परिचय पत्र दिएका हौं ।’ तिवारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले १० प्रकारका शारीरिक समस्या भएका व्यक्तिलाई अपाङ्गताको सूचीमा राखेको जानकारी दिदैं उनीहरुको सेवा सुविधामा स्थानीय तहले कुनै भेदभाव नगरीकन सुविधा प्रदान गर्ने वताइन् । उप प्रमुख तिवारीले हाईमाया र रानाको सामाजिक सुरक्षा भत्ताका लागि वडा कार्यालयमा सम्पर्क गर्न समेत परिवालाई आग्रह गरेकी छन् ।

हालसम्म वालिङ नगरपालिकामा दुई सय चार जना भिन्न क्षमताका नागरिक सुचिकृत भएका छन् । जस अनुसार पूर्ण अशक्त (क) वर्गका ३३ जना, अति अशक्त (ख) वर्गका एक सय जना, मध्यम अशक्त भएका (ग) वर्गमा ५५ जना र सामान्य अवस्थाका (घ) वर्गका १६ जना नगरपलिकामा सुचिकृत गरिएको महिला विकास शाखाकी कर्मचारी अनुस्का काफ्लेले जानकारी दिइन् । यसरी वितरण गरिएको परिचयपत्र अनुसार सामाजिक सुरक्षा भत्ता वापत मध्यम अपाङ्गता भएका व्यक्तिले मासिक १६ सय पाउने छन् भने पूर्ण अपाङ्गता भएकाले तिन हजार पाउने प्रावधान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया