पाकिस्तानले सुरु गर्‍यो चिनियाँ खोपको तेस्रो चरणको परीक्षण

प्रकाशित मिति:

६ असोज, काठमाडौं । पाकिस्तानमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सुरु भएको छ । पाकिस्तानको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)का कार्यकारी निर्देशक आमीर इक्रमले मंगलबार परीक्षण सुरु भएको जानकारी दिएका हुन् ।

पाकिस्तानमा आठदेखि १० हजार मानिसमा यो खोपको परीक्षण गरिनेछ । यसको अन्तिम नतिजा भने अबको ६ महिनामा आउने अपेक्षा गरिएको छ । इक्रमले जनावरमा गरिएको परीक्षणमा खोप पूर्णरुपमा सुरक्षित रहेको पाइएकोले मानिसमा पनि यो खोप सफल हुन्छ भन्ने ठूलो अपेक्षा रहेको बताए।

पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले यो खोपको परीक्षण सफल भए पाकिस्तानका लागि मात्र नभई समग्र विश्वको लागि यो निकै खुसीको कुरा हुने बताए । यो खोपको परीक्षण एनआईएचको निगरानीमा हुनेछ । अहिलेसम्म पाकिस्तानमा तीन लाख ६ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ६ हजार चार सयभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

स्रोत : सिन्ह्वा