वालिङ नपाद्वारा दुःख ब्यक्त

प्रकाशित मिति:

 

तोलाकान्त बगाले-वालिङ, ८ असोज ।अविरल वर्षासँगै आएको पहिरोका कारण भएको जनधनको क्षतिप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ । आज बिहान वालिङ १४ को तमादीमा एकघर पुरिँदा घरमा बस्दै आएकामध्ये ९ जनाको मृत्यु र एकजना घाईते भएकाहरुप्रति नगरपालिकाले एक विज्ञप्ति निकाल्दै दुःख ब्यक्त गरेको हो । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले तमादी घटनाप्रति दुःख ब्यक्त गर्नुहुँदै ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।साथै पहिरोमा परी घाईते मनिषा नेपालीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

“अविरल वर्षाका कारण नगरका विभिन्न ठाउँमा प्राकृतिक विपत्तिका घटनाहरु घट्न सक्ने भएकाले उच्च सकर्तकता अपनाउन अनुरोध गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति हुनसक्ने संभावित क्षेत्र भएमा वा कहीँ कतै घटना घटिहालेमा जतिसक्दो छिटो नगरपालिका कार्यालयमा खबर गरी सहयोग गरिदिनुहुन पनि नगर प्रमुख खाँणले नगरबासीसँग अनुरोध गर्नुभएको छ । प्राकृतिक विपत्तिमा आ–आफ्नो ठाउँबाट खटेर उद्दारमा सहयोग गर्नुहुने सम्पूर्णमा नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।