नेविसंघ गोरखा काठमाडौ सम्पर्क समितीमा विवाद , नेताहरु भन्छन् टिकेप्रथा शुरु भयो

प्रकाशित मिति:

काठमाडौंः नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिको गठन प्रक्रियालाई लिएर विवाद बढेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले हस्तक्षेप गर्दै निर्वाचन प्रक्रियामा गएको अवस्थामा मनोनित गरेर सम्पर्क समिति गठन गरेको भन्दै अध्यक्षका तीन जना प्रत्यासीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई असहमती पत्र बुझाएका छन् । निर्वाचन प्रक्रियामा गएको अवस्थामा बीचमै रोकेर टिके प्रथाको सुरुवात गरिएकोमा हाम्रो विरोध हो अध्यक्षका प्रत्यासी विजय भट्टले भने । गत भदौ अधिवेशन डाकेर बन्दसत्र सम्पन्न भएर उम्मेदावरी समेत दिएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो । पछि चुनाव गर्नेगरी सहमति भएकोमा जिल्ला पार्टीले हस्तक्षेप गर्दै मनोनित गरिएको प्रचार गरिएको छ हामीलाई मान्य छैन अर्का अध्यक्षका प्रत्यासी दिपक अम्गाईंले भने । गत कात्तिक १४ गते जिल्ला पार्टीले अनुप कडरीयको अध्यक्षतामा कार्यसमिति मनोनित गरेको थियो । हामी सहमतिको पक्षमा थियौ तर निर्वाचन प्रक्रियामा गएको विषयलाई टिका लगाएर ट्ग्यांउनु गलत भएकोले असहमती पत्र बुझाएका हौ अर्का अध्यक्षका प्रत्यासी प्रशान्त लामिछानेले भने ।

पार्टी र केन्द्रसंग छलफल गर्ने र वेवास्ता गरेर पार्टी अगाडी बढेमा समानन्तर समिति बनाएर जानुको विकल्प नभएको भट्टले बताए । तीन अध्यक्षका प्रत्यासीले शनिवार केन्द्रिय अध्यक्ष महरलाई असहमती पत्र बुझाएका हुन । गत भदौमा आयोजना गरिएको अधिवेशनमा विजय भट्ट, प्रशान्त लामिछाने, दिपक अम्गाई, नवराज लामिछाने, गजेन्द्र पन्त, राजन श्रेष्ठ र अनुप कडरीयाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।