८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार विद्यालयमा सारियो

प्रकाशित मिति:

सन्धिखर्क : तीन दिनदेखि परेको अविरल वर्षाले सन्धिखर्क नगरपालिका ७ खाँचीकोटको भुजुंगेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ । २०६९ सालमा परेको अविरल वर्षाले जमिन भाँसिएपछि ४९ घर पहिरोको उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती सार्नुपर्ने तत्कालिन जिल्ला दैविक प्रकोप उद्धार समितिले प्रतिवेदन तयार पारेको थियो ।

पहिरो खस्ने क्रम नरोकिएपछि बिहीबार ८ घरपरिवारका ३६ जनालाई स्थानीय चन्द्रप्रभा माध्यमिक विद्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला दैविक प्रकोप उद्दार समितिले यहाँका सबै परिवारलाई अन्यत्र स्थानान्तर गर्न  निर्देशन दिएको थियो । जिल्ला प्रशासनमा ०७० पुस २५ मा बसेको बैठकले जोखिमयुक्त क्षेत्रका नागरिकलाई वैकल्पिक ठाउँ पहिचान गरी सुरक्षित बसोवास गर्ने वातवरण सिर्जना गर्न भनको थियो ।  पहिरोको जोखिम भएका भुजुंगेका पूर्णबहादुर नेपाली, लालकुमारी नेपाली, कृष्णबहादुर नेपाली , भीमबहादुर नेपाली, बिष्णुबहादुर नेपाली, दल्ली नेपाली, बसन्त नेपाली र विन्दु परियारका गरी ८ घरपरिवारका ३६ जनालाई विद्यालयमा बसोबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताए  । महत्वपूर्ण कागजातहरु आफन्तकोमा राख्न लगाएर आवश्यक सामान बोकेर विद्यालयमा सुरक्षित स्थानमा उनीहरु आएको चन्द्रप्रभा माध्यमिक विद्यालयका शिक्षक तिर्थराज आचार्यले जानकारी दिए । उनीहरुलाई विद्यालयमा सहज तबरले बस्ने वातावरण मिलाइएको छ ।

वर्षादको समयमा जमिन भासिने क्रम बढेपछि स्थानीय त्रासमा छन् । २०७० सालमा जिल्ला भू-संरक्षण कार्यालयले स्थलगत निरीक्षण गरेर बस्ती बस्न खतरा रहेको प्रतिवेदन जिल्ला दैविक प्रकोप उद्दार समितिलाई पेश गरेको थियो । बस्ती सार्ने विषयमा छलफल भएपनि स्थानीय एकिकृत बस्तीमा सरेर गाउँनै छाडेर जान मानेका थिएनन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सितगंगा नगरपालिकामा २ वटा घर भत्किएका छन् । सितगंगा नगरपालिका  ४ चाक्लामा दिपक सुनारको घर भत्किँदा २ जना सामान्य घाइते भएका छन् ।  सितगंगा नगरपालिकाकै ११ मा एक घर भत्किएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । सालझण्डी सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । पाणिनि गाउँपालिका  ४ का विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । अधिकांश ग्रामीण सडकहरु पनि अवरुद्ध छन् ।