तीन राप्रपाको एकता भाँडियो,थापाले गाई छाेड्न सकेनन्, राणाले हलाे

प्रकाशित मिति:

काठमाडौ । तीन राप्रपाको एकता भाँडिएको छ । पशुपतिशमशेर राणाले चुनाव चिन्ह हलो नै राख्नु पर्ने भनेपछि पार्टी एकता भाँडिएको हो ।एकता घोषणका लागि सोमबारलाई राष्ट्रिय सभागृहको सभाहल भाडामा लिइसकेको अवस्थामा चुनाव चिन्हको विवादले पार्टी एकता भाँडिएको कमल थापा निकट नेताहरुले बताएका छन् । थापा पक्षीय नेताहरुले पशुपतिशमशेरकै कारण एकता भाँडिएको आरोप लगाएका छन् ।कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र पशुपति शम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकता हुने भनिएको थियो । पार्टी एकताका लागि सबै विषयमा कुरा मिलेर घोषणासम्म पुगिसकेका बेला कमल थापा पक्षधरले चुनाव चिन्ह गाई छोड्न सकेनन् । तर, थापाले चुनाव चिन्हको टुंगो महाधिवेशन लगाउने गरी जान सकिने लचकता अपनाएका थिए । पशुपतिले मानेनन् । उनले हलो नै हुनुपर्छ भने ।

लोहनीले भने आफ्नो कार्यसम्पाद समितिमा छलफल नभएका कारण केही दिन समय दिन भनेका थिए । थापा पक्षधर धेरै दिन यो विषय लम्ब्याउने पक्षमा रहेन । पहिले मिलेर झण्डै एक वर्षपछि चुनावको मुखमा फुटेका दुई पार्टीबीचमै चुनाव चिन्हमा कुरा मिलेन । लोहनी तयार भइसकेका थिए पशुपतिले बखेडा झिके थापा निकट एक नेताले भने अब पार्टी एकताको च्याप्टर लगभग क्लोज भयो भन्दा पनि हुन्छ ।