प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी

प्रकाशित मिति:

पुनहरि बेल्बासे,भैरहवा-प्रदेश नम्बर ५ मा रेडिमिक्स व्यवसायमा १५० करोड बढी लगानी रहेको रेडिमिक्स व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ५ ले जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत संघका अध्यक्ष भरतकुमार पोखरेलले ११ सदस्यीय संघ गठन गरिएको जानकारी गराउँदै रेडिमिक्स व्यवसायीले पनि निर्धारित मापदण्ड र गुणस्तरको पालना गर्नुपर्ने बताएका छन् । मापदण्ड पालना नगरेको खण्डमा संघले नै कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

रेडिमिक्स व्यवसाय सञ्चालन गर्न ८ देखि १० करोडसम्म लगानी आवश्यक पर्ने भएकोले एकैठाउँमा धेरै व्यवसायी हुँदा लगानी डुब्ने सम्भावना हुँदा विकसित शहर, जनसङ्ख्या र विकास निर्माणका कामलाई विश्लेषण गरेर नै रेडिमिक्स व्यवसाय सञ्चालन गर्न अनुमति (दर्ता) हुनुपर्ने संघले माग गरेको छ ।

म्यानुअली प्रयोग गरिएका संरचना त्यत्ति भरपर्दो र बलियो नहुने भएकोले हरेक ठूला प्रोजेक्टमा आरएमसीको प्रयोग हुनुपर्ने संघको माग गरेको छ ।

लामो समय सम्म तयारपारिएको सामग्री गाडीमा रहँदा बिग्रिने डर रहेको कारणले रेडिमिक्स बोकेको गाडीलाई एम्बुलेन्स सरहको सुविधा दिन पनि माग गरेका छन् । प्रदेश नम्बर ५ मा अहिले १४ वटा रेडिमिक्स सञ्चालननमा रहेकोमा रुपन्देहीमा मात्रै ६ वटा रेडिमिक्स ब्यवसाय सञ्चालनमा रहेका छन् ।