स्याङजा : वालिङ नगरपालिका-१४ तमादीमा पहिरोजाँदा शुक्रबार फेरि दुई घर पुरिएका छन्। कृष्ण खनाल, राजु खनाल र ख्यामप्रसाद खनालका घर गोठ पुरिएका हुन्। गोठ पुरिँदा २ वटा लैना र अर्को भैसीं मरेका छन्। मानवीय क्षति भने नभएको स्थानीय समाजसेवी राजु कुवँरले जानकारी दिए।
बिहीबार बिहान गएको पहिरो नजिकै फेरि गएको हो। पहिरोले हिजो पुरिएको घरभन्दा तल रहेका ती घररलाई पूर्ण क्षति भएको छ। बिहीवार बिहानको पहिराले माथिको घर पुरेर ९ जनाको ज्यान गएपछि ती घरका परिवारलाई हिजो नै छिमेकीकोमा सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको हो।
बिहीबार बिहानको भन्दा शुक्रबारको पहिरो निक्कै ठूलो र डरलाग्दो छ। पहिरोले ती घरका छानोमात्रै देखिएको छ। घरमा रहेका सबै अन्नपात, लत्ताकपडा र धनदौलत सबै पुरिएको कुवँरले भने।
ती परिवारका सबै सदस्य अहिले छिमेकीको घरमा बसेका छन्। बिहीबार बिहानको पहिरोले एकाघरका ८ जनासहित ९ जना पुरिएका थिए। आधा पुरिएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय मनिषा नेपालीको भने पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।