पार्टी विधानमा सभापतिलाई अधिकार थप्नु आवश्यक छैन : पौडेल

प्रकाशित मिति:

काठमाडौं, कात्तिक २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारकाविरुद्ध आन्दोलनमा जाने तयारीमा जुटेको छ ।
सत्तारुढ दलका नेताहरुले नै सरकारले काम गर्न नसकेको आरोप लगाइरहेका बेला प्रतिपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबेको र स्वेच्छाचारिता बढेको भन्दै त्यसकाविरुद्ध अभियान सन्चालन गरिने बताएका छन् ।
नेता पौडेलले आफ्नै पार्टी सन्चालन पद्दतिमा पनि असन्तुष्ट छन् ।उनले पार्टीभित्र थुप्रै समस्या रहेको र त्यसको कारक नेतृत्व भएको बताएका छन् ।पार्टी विधानमा सभापतिलाई अधिकार थप्नु आवश्यक नभएको बताउँदै उनले पदाधिकारी भने थप्नुपर्ने तर्क गरेका छन् ।प्रभावकारी प्रतिपक्षी नहुँदा सरकारको स्वेच्छाचारिता बढेको बहस अहिले यत्रतत्र सर्वत्र छ । सरकारी कामप्रति खबरदारी गर्दै दर्बिलो बन्नुपर्ने प्रतिपक्षी अहिले आफैंभित्र हराएको छ ।पार्टीभित्रै लफडामा फसेको कांग्रेसलाई विवाद मिलाउन हम्मे–हम्मे परिरहेको छ । पार्टी विधान परिमाजर्नका लागि महासमिति बैठक बोलाइएको छ ।
तर, विधान मस्यौदा समितिले विधानको टुंगो गर्न नसक्दा महासमिति बैठक नै पटक–पटक स्थगित गर्नुपरिरहेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको अधिकार नथपी केही पदाधिकारीमात्र थपेर विधानलाई टुंगो लगाउनुपर्ने तर्क गर्छन् । तर, यस विषयमा विवाद निरुपणका लागि छलफल नै नगरिएको पौडेलको आरोप छ ।पार्टी नेतृत्वको कार्यशैलीका कारण दर्बिलो प्रतिपक्षीसमेत बन्न नसकिएको भन्दै वरिष्ठ नेता पौडेल ‘मुख छँदा–छँदै नाकले पानी नखाने’ नीति आफूले बोक्दा पार्टी संकटमा परेको तर्क गर्छन् ।सरकारको काम–कारबाहीप्रति विपक्षी सन्तुष्ट हुने कुरै भएन । तर, आफैंभित्र धेरै लफडा भएपछि कसले अरुकाबारेमा बोलिदिने भन्ने अन्योलमा पनि छ, कांग्रेस अहिले ।वरिष्ठ नेता पौडल सरकार पूर्णरुपमा असफल भएको, स्वेच्छाचारितामा रमाउँदै भ्रष्टचारमा लिप्त रहेकाले अब त्यसकाविरुद्ध आन्दोलन गर्नुपर्ने बताउँछन् ।कम्युनिस्टहरुले बोल्ने एउटा र गर्ने काम अर्के भएको बताउँदै जनतामा राजनीति र नेताहरुप्रति नै वितृष्णा आएको ठम्याइ छ, नेता पौडेलको ।
वरिष्ठ नेता पौडेल पार्टीमा उपसभापति थपिएको विषयमा आफ्नो असहमति नरहेको भन्दै ‘प्रक्रियामात्र मिलाएको भए हुन्थ्यो’ भन्छन् ।अघिल्लो हप्ता बसेको केन्द्रीय कार्यसमिति बैठकले विजयकुमार गच्छादारलाई कांग्रेस उपसभापति मनोनीत गरेपछि विवादै–विवादमा रहेको कांग्रेसमा नयाँ विवाद थपिएको छ ।
imagekhabar bata sabhar