उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन

प्रकाशित मिति:

उपभोक्ताको हितमा काम गर्नेगरी स्थापना भएको उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन भएको छ । सिद्धार्थनगर भैरहवामा सम्पन्न एक भेलाले नरेन्द्र भन्डारीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता हित संरक्षण समिती सिद्धार्थनगर समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा राधिका खरेल, सचिवमा रोशन थापा, सहसचिवमा नरेन्द्र बहादुर खत्री क्षेत्री, कोषाध्यक्षमा समिर खान चयन भएका छन् । यसैगरी सदस्यहरुमा यादबराज खरेल, टंकनाथ पोखरेल, सोनु गुरुंग, बिनोद थापा, जयप्रकाश तेली, शिवनारयण चौधरी, आशिष पन्त र सुमित्रा खत्री गोदार सर्वसम्मत रुपमा चयन भएका छन् । भेलालाइ सम्बोधन गर्दै सिद्धार्थनगर पालिकाको उपप्रमुख उमा काफ्लेले उपभोक्ताको हितको संरक्षणकोलागि उपभोक्ताबादीहरु अझै सक्रिय हुनुपर्ने बताइन् । उनले भनिन, ‘नगर स्तरीय समितीले सिद्धार्थनगर पालिकाको सहकार्यमा उपभोक्ताको हितकोलागि काम गर्नेछ । यो समितीले सिद्धार्थनगरपालिकाका सम्पुर्ण उपभोक्ताको लागि उपलब्धीमूलक काम गर्ने मैले विश्वास लिएकी छु । ’

सो अवसरमा उपभोक्ता हित संरक्षण समिती प्रदेश ५ का अध्यक्ष तेज प्रसाद पाठकले वर्तमान परिवेशमा पनि उभोक्ताहरु गुणस्तर, मूल्यबाट ठगीरहेको बताउदैं उपभोक्तालाई सचेत गराउदैं उपभोक्ताको अधिकार प्रत्याभूत गर्न उपभोक्ता हित संरक्षण मन्चले काम गर्ने बताए । उनले भने, ‘हामी जति सक्रिय हुन्छौं त्यति उपभोक्ताको अधिकार प्राप्त गर्दछौं । ’ भेलामा उपभोक्ताबादी आन्दोलनका नेता तथा बरिष्ठ पत्रकार डिआर घिमिरले कोरोना महामारीको बेला पनि आम उपभोक्ताले सामन्य हिसाबले पाउनुपर्ने अधिकार उपभोग गर्न नपाएको , कतिपय सबालमा ठगीएको विभिन्न उदाहरण दिदैं सिंगो समाजलाई सचेत गराउदैं काम गर्नुपर्ने बेला आएको बताए । घिमिरले उत्पादक, विक्रेता र सेवादातालाई सहि बाटोमा हिडाउने कार्य सचेत उपभोक्ताको भएको पनि बताए । उनले कोरोनाको समयमा भइरहेका कालाबजारी रोक्न तथा गुण्स्तरहिन सेवा प्रदान गर्ने सेवा प्रदायक संस्था तथा सरकारी निकायका कामकाजको अनुगमनकोलागि पनि उपभोक्ता हित संरक्षण मन्चले सक्रियता पुर्वक काम गर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेतलले सर्वसाधरण उपभोक्ताको समेत हित हुनेगरी उपभोक्ता हित संरक्षण समितीले काम गर्नेमा विश्वास व्यक्त गरे । सो अवसरमा नवनिर्वाचित अध्यक्ष नरेन्द्र भन्डारीले नेपालको कानूनको परिधिभित्र रहेर उपभोक्ताहरुको समग्र हितकोलागि कुनै कसूर बाकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।