असोज महिना भरी पुनरकर्जाका लागि प्रस्ताव बुझाउन सकिने

प्रकाशित मिति:

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीहरुबाट असोज महिना भरी पुनरकर्जाको लागि प्रस्ताव माग गर्न सक्ने भएका छन । लकडाउनपछि निषेधाज्ञा थपिएकाले र्सवसाधारणको आग्रह अनुसार समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट असोज १४ गतेसम्म प्रस्ताव बुझाइसक्नु पर्ने भनेको थियो । तर, कोरोना संक्रमण झनै बढेपछि थपिएको निषेधाज्ञाले ग्राहकले निवेदन दिन नपाएको हुनाले समय थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

बैंकहरुले सोमबारसम्ममा कुनै पनि निवेदन नदिएको बताउदै कार्यकारी निर्देशक देवकुमारमा ढकालले भने,“लकडाउन र निषेधाज्ञाले ग्राहकले पुनरकर्जाका लागि निवेदन दिन नआएको हुनाले असोजको महिनासम्मका लागि समग थप गरिएको हो ।” बैंक वित्तीय संस्थाले पनि ग्राहकबाट निवेदन आह्वान गरिसकेको भएपछि केन्द्रीय बैंकमा भने नबुझाएको उनले बताए ।

 

बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटलको २५ प्रतिशतले हुन आउने रकममध्ये पनि ७० प्रतिशत साना ऋणी र ३० प्रतिशत ठुलालाइ गरेर निवेदन लिनु पर्ने व्यवस्था छ । त्यसरी लिएको निवेदन बैंक वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरेपछि मात्र नेपाल राष्ट्र बैंकमा निवेदन दिनु पर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ऋणीहरुबाट आफुले कर्जा उपभोग गरिरहेको शाखा कार्यालयहरुमा सम्पर्क गर्न भनेको छन ।

कार्यविधि अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन दिन सकिन्छ । तोकिएको समयभित्र आवेदन नदिने ऋणीहरुलाई पुनरकर्जा सुविधा उपलब्ध गराउन कठिनाई हुने समेत बैंकहरुले जनाएका छन।

कोरोना प्रभावितले आगामी महिनाको अन्तिसम्ममा पुनरकर्जा पाउने पुनरकर्जा उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ। बैंक वित्तीय संस्थाले पीडितको आवेदन आगामी असोज महिना भरी केन्द्रीय बैंकमा पेश गरेपछि पुनरकर्जा वितरण सुरु हुनेछ।

राष्ट्र बैंकले भदौ १ गते देखि कोरोना प्रभावित उद्योग व्यवसायका लागि पुनरकर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरिसकेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।

राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” लागू गरिसकेको छ । राष्ट्र बैंकबाट प्राप्त हुने पुनरकर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ ।

राष्ट्र बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेश गर्नुपर्नेछ । आवेदनको लागि छनौट गरिएको कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक।वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्नेछ । प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनुपर्नेछ । इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनरकर्जा माग गरी निवेदन दिनुपर्नेछ ।

केन्द्रीय बैंकले उपलब्ध गराउने पुनरकर्जा सुविधा २० प्रतिशतभन्दा बढी नाफा गर्ने संस्था, पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्युटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसाय र व्यक्तिगत ऋणीले उपयोग गर्न नपाउने व्यवस्था पुनकर्जा कार्यविधि, २०७७ मा व्यवस्था गरिएको छ । यस्तै ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जामा उपभोग गर्ने ऋणीहरु पनि पुनरकर्जा लागि अयोग्य हुनेछन् ।