एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग

प्रकाशित मिति:

लिस्बन, पोर्चुगल । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तरराष्ट्रिय श्रम संगठन आइएलओले गैरआवासीय नेपाली संघ एनआरएनए लाई थप ५ करोड रुपैयाँ अनुदान दिने भएको छ । यसअघि आइएलओले संघलाई ५ करोड रुपैयाँ सहयोग दिएको थियो । अन्तरराष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगका लागि सो रकम प्रदान गरेको संघका उपाध्यक्ष डा। बद्री केसीले जनाए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघबीच यसै साता सहमतिपत्रमा हस्ताक्षर भएको हो । नेपाली श्रमिकहरुको मानवीय अधिकार र सहयोगका लागि कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ दिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

सहयोगका लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, डा पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रपोजल तयार पारेका थिए । आइएलओले संघको प्रस्तावलाई लामो समय अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।