संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 

प्रकाशित मिति:

स्याङ्जा : १३ असोज २०७७ , मिन बहादुर थापा मगर। यस बर्ष कोरोना कहर सँगसँगै प्राकृतिक विपत्तिको रूपमा देशभरी बाढीपहिरोले हामी नेपालीहरूलाई दु:ख दिएको छ। यसैबिच स्याङ्जाको कालीगण्डकी गाउँपालिका पनि कोरोना र बाढीपहिरोबाट अछूतो रहेन । गत असार देखि हालसम्म कालीगण्डकी गाउँपालिका वाड नं ४ , साविक बिर्घा स्याङ्जामा पहिरोमा परि पाँच जनाले ज्यान गुमाउनु भएको छ। संविधानसभा सदस्य माननिय सासंद मोहन प्रसाद पाण्डेयबाट प्राप्त आर्थिक सहयोगले पहिरो पीडित परिवारले राहत महशुस गरेका छन् ।

गत ८ असोजमा पहिरोमा परेर घरवार विहिन परिवार बाबुराम दमाई र आउमाया दमाईको परिवारलाई सांसद पाण्डेयले हिजो घटनास्थलमा पुगेर रु २५,०००/- पच्चीस हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो। बाबुराम दमाईको परिवारलाई रु १५,०००/- रुपैयाँ र आउमाया दमाईको परिवारलाई रु १०,०००/- रुपैयाँ प्रदान गर्नुभएको बिर्घाबाट सुन्दर पाण्डेयले बताउनुभयो। पहिरोमा परेर बाबुराम दमाईका बर्ष १६ का बिष्णु दमाईले ज्यान गुमाएका थिए।छिमेकीको पक्की पर्खाल भत्केर पहिरोको रुप लिंदा बाबुराम र आउमाया दमाईको घरमा क्षति पुगेको थियोे।यसैबिच गत असार ३० गते लाकुरथोक खहरेमा पहिरोमा परेर ज्यान गुमाउनु भएका मृतकका परिवारलाई समेत सांसद पाण्डेयले प्रति परिवार रु १५,०००/- पन्ध्र हजारका दरले रू ६०,०००/- साठी हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियोे। पाण्डेय नेपाली काँग्रेस स्याङ्जाबाट निर्वाचित प्रथम संविधानसभा सदस्य हुनुहुन्छ।

बाढीबाट क्षतिग्रस्त कालीगण्डकी गाउँपालिका – २, लसर्घा स्थित श्री आदर्श प्रा वि . लाई पनि पाण्डेयले रु ५०, ०००/- पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियोे।कालीगण्डकीमा पहिरोका कारण १० घरपरिवार भन्दा बढी विस्थापित भएका छन् । पहिरो पीडित तथा विस्थापित परिवारलाई स्थानीय सरकार , प्रदेश र संघीय सरकारबाट राहत स्वरूप आर्थिक तथा खाद्यन्न लगायत अन्य बन्दोवस्तीका सामानहरू प्रदान गरिएको छ।गाउँपालिकाले विस्थापित परिवारहरूलाई तोकिएको मापदण्ड अनुसार नयाँ आवास निर्माणका लागि रु २,५०,०००/- दुइ लाख पचास हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।