बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

प्रकाशित मिति:

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो । उहाँले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी वि.क.लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।