उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह

प्रकाशित मिति:

बुटवल, १३ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवलको संगमपथमा रहेको संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको कार्यसमिति बैठकले संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्दै आम घरधनीलाई पनि व्यबसायीलाई सहुलियत प्रदान गर्न आग्रह गरेको हो ।

त्यस्तै घरबहाल छुट गर्ने घरधनीलाई बहालकर छुट गर्न समेत सरकारसंघ माग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण ६ महिना व्यापार व्यबसाय ठप्प भएकोले व्यबसायीलाई केही हदसम्म भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघले महामारीको समयमा आफ्नो घर भवनमा व्यबसाय गरेका उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्दै संघले गरेको आग्रहमा सहयोग प्राप्त हुने समेत विश्वास गरेको छ ।

त्यस्तैगरी महामारीको समयमा गरिएको सिमानाका नियन्त्रणलाई निरन्तर नियन्त्रण गर्न समेत संघले आग्रह गरेको छ । सिमानाकालाई नियन्त्रण गर्दा बैद्य कारोवारलाई प्रात्साहन हुने र मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने भएकाले सिमानाकालाई नियमित कडाई गर्न आग्रह गरिएको हो ।

त्यस्तै बैठकले संघले यहि असोजमा गर्ने निर्णय गरेको साधारण सभा तथा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को स्वास्थ्य मापदण्डको कारण कार्यक्रम गर्न अनुमति प्राप्त नभएकाले असोजको २८, २९ र ३० गतेलाई तय गरेको साधारण सभा तथा अधिवेशन अर्को निर्णय नगर्दा सम्मलाई स्थगन गरिएको महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।