झर : छोटो परिचय

प्रकाशित मिति:

शेषनाथ पौडेल
परिभाषा : “झर भनेको स्वच्छन्द अक्षर संरचनाका दुई पङ्क्तिमा आबद्ध भई विषयगत विविधतामा लेखिने सूक्ष्म, प्रभावकारी, सूक्तिमय कविताको लघुतम उपविधा हो ।ू
सामान्य चिनारी : ‘झर’ शब्द संस्कृतको ‘झृ’ धातुमा ‘अच्’ प्रत्यय लागेर बनेको हो । नामका रूपमा प्रयोग हुँदा यसको शाब्दिक अर्थ जलप्रवाह र गुलियो घिउरोटी भन्ने हुन्छ भने क्रियाविशेषण ९अनुकरण० का रूपमा जलप्रवाहको निनादलाई पनि झर वा झरझर शब्दले बुझाउँछ । यही झर शब्दलाई नेपाली साहित्यमा कविताको उपविधाका रूपमा स्थापना गरिएकाले कविताको यस उपविधाले लघु संरचनामै चित्तलाई झङ्कृत पार्ने तथा मिठास भरिदिने कार्य गर्छ भन्ने बुझिन्छ ।
झरमा कथन, सूक्ति, भनाइ वा महावाणी जस्तो सूत्रात्मकता हुन्छ भने उखान, लोकोक्ति जस्तो मिठास हुन्छ । यस्तै जलप्रवाह र मिठो खाद्यपदार्थको नाम बुझाउने शब्दको प्रयोग यस उपविधाको नामकरणमा गरिएकाले स्वभावैले यसले प्रकृति, समाज र संस्कृतिभित्रका विविध विषयलाई बिम्बका रूपमा ग्रहण गर्न सक्छ । यस विधामा झरका समूहलाई झरना र झरनाको समूहलाई नदी भनिएकाले यो प्रकृतिपरक तथा स्वच्छन्द हुन्छ तथा प्रवाहशीलताको अर्थमा समेत प्रकट हुने भएकाले यसमा सरलता पनि विद्यमान हुन्छ भन्ने बुझिन्छ ।
झर हृदयबाट झ्वाट्ट निस्कने भावनाको एक मुल्कोको त्वरित् लेखन हो । स्वतन्त्र रूपमा प्रस्तुत गरिने भएकाले यसलाई स्वच्छन्दतावादी कविता परम्पराको एक प्रकारका रूपमा लिन सकिन्छ । तर, यो अत्यन्त छोटो हुन्छ । दुई पङ्क्तिमा मात्र सीमित हुने यो पूर्वीय संस्कृत कविता सिद्धान्तमा अङ्कन भएका द्विपदी, त्रिपदी वा चतुष्पदी ९मुक्तक० परम्पराको कविताका रूपमा देखिन्छ । नेपाली साहित्यमा परम्परादेखि प्रचलनमा रहेको मुक्तक, हिन्दी, उर्दूका सायरी वा सेर, यस्तै नेपालीमा हालै नयाँ उपविधाका रूपमा उदाउँदै गरेका बाछिटा, खोरिया, कोपिला, तथा जापानी कविताको अनुकरणमा लेखिने गरेको हाइकु जस्ता कविताका समकक्षी रचनाका रूपमा यो देखिन्छ ।
कुनै कुरा देखेर, सुनेर वा भोगेर मानिसका मनमा हुने उत्तेजनाको त्वरित् भाषिक प्रतिक्रियास्वरूप झर सिर्जना हुन सक्छ । अहिलेको प्रविधिको युगमा व्यस्त मान्छेका मनमा उठ्ने भावलाई छोटो र प्रभावकारी शैलीमा सीमित समयमा काव्यात्मक अभिव्यक्ति दिनुपर्दा झर महत्त्वपूर्ण माध्यम बन्न सक्छ । साथै एक निमेषमै हेरेर पाठकको हृदयलाई आह्लादित बनाउन पनि यसले मद्दत गर्छ ।
यसको पहिलो पङ्क्तिमा विषयवस्तुको उठान गरी पछिल्लो पङ्क्तिले त्यसको उदाहरण, पुष्टि वा समर्थन गर्दै प्रभावकारी सन्देश प्रस्तुत गर्नसक्छ :
– झरमा स्वच्छन्द अक्षर संरचना हुन्छ ।
– यो दुई पङ्क्तिमा आबद्ध भई विषयगत विविधतामा लेखिन्छ ।
– झर सूक्ष्म, प्रभावकारी, सूक्तिमय कविताको लघुतम उपविधा हो ।
– यस उपविधाले लघु संरचनामै चित्तलाई झङ्कृत पार्ने तथा मिठास भरिदिने कार्य गर्दछ ।
– झरमा कथन, सूक्ति, भनाइ वा महावाणी जस्तो सूत्रात्मकता हुन्छ ।
– झर उखान, लोकोक्ति जस्तो मिठासपूर्ण हुन्छ ।
– यसले प्रकृति, समाज र संस्कृतिभित्रका विविध विषयलाई बिम्बका रूपमा ग्रहण गर्न सक्छ ।
– झर हृदयबाट झ्वाट्ट निस्कने भावनाको एक मुल्कोको त्वरित् लेखन हो ।
– अहिलेको प्रविधिको युगमा व्यस्त मान्छेका मनमा उठ्ने भावलाई छोटो र प्रभावकारी शैलीमा सीमित समयमा काव्यात्मक अभिव्यक्ति दिनुपर्दा झर महत्त्वपूर्ण माध्यम बन्न सक्छ ।
– वाक्यका रूपमा आउने सरल कथनमा कवित्व शक्ति कमजोर हुने भएकाले पदविचलन र आलङ्कारिक पदक्रमको प्रयोग तथा दुई पङ्क्तिमा रहने विविध अनुप्रासीयतामा झरका सर्जकले ध्यान पुर्याउनुपर्छ ।

झरका केही उदाहरणहरू:
१) फक्रँदो फूल,
         भँवराको ताँती
   यौवनको मूल ।
              – शिव खनाल
२) काँढा हार्न फूल फुल्नुपर्छ,
   प्रेममा जनको मन घुल्नुपर्छ ।

                          – नारायण खनाल   
३) तिमीले मलाई एउटा रातो गुलाफ दियौ,
 n मैले त्यही गुलाफ मन्दिरमा चढाएँ ।
                                        – आर्त अकुलीन
४) भ्रमण वर्ष २०२० कोरोनाले भ्रमण गर्यो,
     मानिसचाहिँ घरभित्रै बन्दी बनी बस्नुपर्यो ।
                                          – एक्लो प्रितम खड्का
५) गणतन्त्र बनारसी साडी रहेछ,
       किनाराका बस्ती मास्ने बाढी रहेछ ।
                                           – खगेन्द्र बस्याल
६) लजाएर झुक्यो नजर एकोहोरो हेरेपछि
            प्रेमिल स्नेह सुगन्धित भो अँगालोमा बेरेपछि ।
                                                           – विष्णु भट्टराई ‘विभु’
७) मनको मैलो धुन सके पो जिन्दगी,
           आफ्नो लक्ष्य छुन सके पो जिन्दगी ।
                                                         – निरु गौतम
८) कस्तो फूल फुलेछ यो हृदयको आँगनीमा,
             शीतबिन्दु भई म त बिलाएछु बिहानीमा ।
                                                           – सावित्रा पाण्डेय
९) चिन्तन हो साधना हरपल जीवनको,
                    चिन्ताले पार्छ जीवन सखाप ।
                                                 – भारती न्यौपाने
१०) सूचनाको विकास,
                   अन्योलको निकास । +++ +++
शान्तिको दीप बालेर क्रान्तिको हवि हालेर,
                  राष्ट्रका लागि जुटेर उठौँ भ्रष्ट मति फालेर ।।
                                                                           – शेषनाथ पौडेल

निष्कर्ष : पढ्नेबित्तिकै सामान्य पाठकमा पनि सिर्जनाको ऊर्जा भरिदिन सक्ने क्षमता झरले राख्छ । छोटोमा सरल तर प्रभावकारी हुनु झरको विशेषता हो । यसमा दुई पङ्क्ति हुनुपर्ने मान्यता छ तापनि वर्ण वा अक्षरको सीमा नभएका कारण अन्य कतिपय छोटा संरचनाका उपविधाका तुलनामा यो लेख्नका लागि पनि सरल हुन्छ । वर्ण, अक्षर वा शब्दको नियमन नभएका कारण लामा लामा दुई वाक्यका कथनलाई पनि झरका रूपमा अर्थ्याउन सकिने हुन्छ तापनि वाक्यका रूपमा आउने सरल कथनमा कवित्व शक्ति कमजोर हुने भएकाले पदविचलन र आलङ्कारिक पदक्रमको प्रयोग तथा दुई पङ्क्तिमा रहने विविध अनुप्रासीयतामा झरका सर्जकले ध्यान पुर्याउनुपर्छ ।