घर कुन दिशामा फर्केको राम्रो ? वास्तुशास्त्र ले यसो भन्छ ! जान्नुहोस् !

प्रकाशित मिति:

कात्तिक २६ । वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ ।

पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ । त्यसकारण पूर्व दिशालाई अन्य दिशाहरु भन्दा निकै महत्वपूर्ण मान्ने गरिन्छ । पूर्व दिशाको मालिक देवताहरुका राजा इन्द्रलाई मानिन्छ ।

साथै नवग्रहमध्ये सूर्यले पनि यस दिशाको नै प्रतिनिधित्व गर्दछ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तुपुरुषको मुखको भाग पर्दछ । यस्ता विविध कारणहरुले गर्दा पूर्व दिशालाई शुभ दिशा मानिन्छ ।

तर घरभन्दा पूर्व दिशा कुनै कारणले अग्लो छ भने यस्तो लाई अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार पूर्वदिशामा भएको बाटोमा घर ढेपेर बनाइएको छ र पश्चिम दिशा चाहिँ खाली हुनु पनि राम्रो हुँदैन ।

पूर्व दिशामा फोहोर फाल्ने ठाउँ या फोहोर संकलन गर्ने ठाउँ हुनु पनि अशुभ मानिन्छ । साथै आफ्नो घरको यस दिशामा पुराना संरचनाहरुको भग्नावशेषहरु छन् भने पनि अशुभ नै मानिन्छ ।

शहर बजारमा भाडामा घर नलगाउने सायद कम नै हुन्छन् । वास्तुशास्त्रका अनुसार भाडा लगाइने घरमा घरमूली सँधै सबैभन्दा माथिको तलामा बस्नु शुभ हुन्छ भने घर सकेसम्म धेरै समय खाली गरेर नराख्नु नै राम्रो हुन्छ । घरको कम्पाउन्ड पनि पश्चिम भन्दा पूर्व होचो हुनु शुभ मानिन्छ ।

वास्तुशास्त्रका कतिपय ग्रन्थहरुमा दक्षिण दिशालाई अशुभ मानेको पाइन्छ । तर हाम्रो देशको सन्दर्भमा भने पूर्व दक्षिण हुँदै पश्चिमसम्म घामको प्रकाश जाने भएकाले यस दिशालाई नराम्रो मान्नुपर्ने भने देखिँदैन । केही विशेष परिस्थिति बाहेक अन्य प्रयोजनको लागि दक्षिण दिशा पनि प्रयोग गर्न सकिने देखिन्छ । हिन्दुधर्मका अनुसार दक्षिण दिशालाई यमराज र भैरवको दिशाको रुपमा मानिन्छ ।

ज्योतिषशास्त्रका अनुसार यस दिशाको मालिक मङ्गल ग्रहलाई मानिन्छ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तु पुरुषको बायाँ छाती पर्दछ ।

घरको दक्षिण दिशामा धेरै जग्गा छोड्नु हुँदैन । यस दिशामा अरु दिशामा भन्दा बढी ठाउँ खाली छोडिएको छ भने घरमा धन सम्पति र मान मर्यादामा समस्या हुने मानिन्छ । घरको छत अर्थात् ढलान दक्षिणतिर ढल्केको हुनु पनि अशुभ मानिन्छ । छतको पानीको निकास पूर्व उत्तर वा पश्चिमतर्फ हुनुलाई राम्रो मानिन्छ । घरको दक्षिणतर्फ बनाइएको पर्खाल आग्नेय कोण वा दक्षिण दिशातर्फ ढल्केको छ भने पनि राम्रो मानिँदैन ।

जुन घडेरीमा घर बनाइएको छ त्यस घडेरीको जमिन दक्षिणतर्फ भिरालो छ भने त्यसलाई राम्रो मानिँदैन । छानोको पानी दक्षिणतर्फ झर्नेगरी घर बनाउन हुँदैन ।

शास्त्रअनुसार पश्चिम दिशाका मालिक वरुण देवता हुन् । वरुणलाई जलको देवता मानिन्छ । घरको पश्चिम दिशामा भत्किएको र चर्किएको भित्ता हुनुलाई राम्रो मानिँदैन । यस दिशामा गहिरो खाल्डो छ भने पनि यसलाई अशुभ मानिन्छ ।

उत्तर दिशाको मालिक धनसम्पत्तिका मालिक कुबेरलाई मानिन्छ । ज्योतिष शास्त्र अनुसार यस दिशाको प्रतिनिधित्व बुध ग्रहले गर्दछ । वास्तु शास्त्रका अनुसार यस दिशामा वास्तुपुरुषको छाती पर्दछ । यस कारण उत्तर दिशालाई वास्तु शास्त्रमा महत्वपूर्ण मानिन्छ ।

हाम्रा संरचनाहरुको उत्तर दिशामा बाटो भएको राम्रो मानिन्छ । तर उत्तर दिशामा बाटो भएपनि यही दिशाको पर्खाल वा घरको भित्तो चर्किएको छ भने अशुभ मानिन्छ ।

विशेष गरेर उत्तरबाट हल्का पश्चिम दिशातर्फ कुवा, इनार, वा पानी संकलन गर्ने स्थान हुनु राम्रो मानिँदैन । घरको उत्तरतर्फ भएका अनावश्यक रुख, काँडा वा पर्खालहरु हटाउनु राम्रो हुन्छ । यस दिशामा भएको गहिरा खाल्डाखुल्डीहरु पुर्नुपर्दछ ।